पुस्तक चर्चा

विचार, अनुभूति र यथार्थको त्रिवेणी : ‘धमिराको देवल’

सुस्मिता बजगाईं २८ चैत २०८२ ११:४० | Saturday, April 11, 2026
18
SHARES
विचार, अनुभूति र यथार्थको त्रिवेणी : ‘धमिराको देवल’

निबन्ध विधामा दोस्रो नयाँ कृति प्रकाशित गरेर बोधराज पौडेलले निबन्धकारका रूपमा आफूलाई अझ परिस्कृत गरेका छन्। ‘धमिराको देवल’ उनको दोस्रो निबन्धसंग्रह हो। यसअघि उनले ‘सोकेसको ऐना’ निबन्धसंग्रह प्रकाशित गरिसकेका छन्। त्यसो त पहिलो कृति कवितासंग्रह प्रकाशित गरेर उनले यसअघि नै आफूलाई कविका रूपमा चिनाइसकेका छन्। कवितासंग्रह ‘बगर र काँसहरू’ उनको पहिलो कृति हो।

संग्रहमा ‘शीतविन्दुमा मोतीको चमक’देखि ‘झर्नुस् झर्नुस् चौरासी आइपुग्यो’ सम्म २२ वटा निबन्ध समावेश छ।  यीमध्ये केही निबन्ध यसअघि विभिन्न पत्रपत्रिका तथा अनलाइन माध्यममा प्रकाशित भइसकेका थिए। संग्रहमार्फत निबन्धकार पौडेलले जीवन, समाज, मानवीय चेतना, मनोविज्ञान, संस्कृति र प्रकृतिका विविध आयामलाई समेट्ने प्रयास गरेका छन्।  ‘धमिराको देवल’ निबन्धमार्फत उनी विचार र दर्शनको गहिराइतर्फ केन्द्रित छन्। त्यसैले यो कृति समकालीन नेपाली साहित्यमा विचार, अनुभूति र यथार्थको त्रिवेणी बन्न पुगेको छ।

विषयगत विविधता : जीवनदर्शन र मनोविज्ञान

संग्रहका अधिकांश निबन्ध कथाशैली र दार्शनिक चिन्तनले मिश्रित छन्। जसमा गरिबी, मानवीय संवेदना, मनोविश्लेषण, सम्बन्ध, समय र सामाजिक यथार्थ समेटिएका छन्। जीवन, समाज र प्रकृतिका आयामलाई गहिराइसम्म केलाइएको छ। कतै बाँदरको व्यवहारमार्फत सामाजिक विकृतिको संकेत गरिएको छ भने कतै भुइँमान्छेको जीवनसंघर्षमार्फत आत्मबोधको खोजी गरिएको छ। यसर्थ, निबन्धकारले साधारण घटनालाई पनि असाधारण अर्थ दिने प्रयास गरेका छन्।

यसका साथै उनले मनको चञ्चलता, सम्बन्धको जटिलता, सामाजिक विकृति, समयको गति र प्रकृतिलाई जीवनोपयोगी शिक्षाका रूपमा ग्रहण गर्नुपर्ने विचार व्यक्त गरेका छन्। ‘लुप्त मनले उघारेको तृष्णा’, ‘अन्तरमनको आँधी’ र ‘निस्सार भागदौड’ जस्ता निबन्धमा मानिसको मनभित्र चलिरहेको अदृश्य द्वन्द्वको विश्लेषण गरिएको छ। निबन्ध पढ्दै गर्दा ‘मानिस किन असन्तुष्ट हुन्छ?’ ‘आफ्नो उपलब्धिभन्दा अरूको जीवनमा किन केन्द्रित हुन्छ?’ जस्ता प्रश्नले पाठकलाई सोच्न बाध्य बनाउँछन्।

यी निबन्धमा भुइँमान्छे, बुढो रूख, सिमलजस्ता प्रतीक प्रयोग गर्दै मनलाई स्थिर राख्नुपर्ने र अनावश्यक दौडबाट टाढा रहनुपर्ने सन्देश दिइएको छ। मनलाई ‘पार्टी परिवर्तन गर्ने नेताजस्तो’ बनाउन नहुने भन्दै उनले मन नियन्त्रण नगरेसम्म जीवन सन्तुलित नहुने विचार व्यक्त गरेका छन्।

रूखका पुराना पात झरेपछि मात्र नयाँ पलाउने, अण्डा नफुटी चल्ला ननिस्कने, फूल र काँडाको सहअस्तित्वजस्ता उदाहरणमार्फत जीवनको संघर्ष र विकासका पक्ष स्पष्ट पारिएका छन्। साथै जीवनमा आउने दुःख र कठिनाइबाट नआत्तिनुपर्ने सन्देश पनि दिइएको छ।

‘समुद्र सगरमाथा संवाद’मा प्रकृतिका दुई रूपबीचको संवाद प्रस्तुत गरिएको छ। यसमा सगरमाथाको उचाइ र समुद्रको विशालताबीच तुलना गर्दै अहंकार र अस्तित्वबारे बहस गरिएको छ। यसबाट दुवैको आफ्नै महत्त्व रहेको सन्देश दिन खोजिएको छ।

‘महको लोभ’ मा मौरीको टोकाइ सहेर मात्र मह पाइने सन्दर्भमार्फत सम्बन्धमा विश्वास, सहनशीलता र त्याग आवश्यक हुने कुरा प्रस्तुत गरिएको छ। ‘धमिराको गुँडमा छिचिमिराको साम्राज्य’ निबन्धमा धमिराको जीवनशैलीलाई आधार बनाएर संस्कार र परम्पराको महत्त्वबारे चर्चा गरिएको छ। पुर्खाबाट सिकेको ज्ञानलाई व्यवहारमा उतार्ने क्षमताले नै पहिचान निर्माण गर्छ भन्ने सन्देश दिइएको छ। यसै निबन्धबाट संग्रहको शीर्षक चयन गरिएको छ, जुन सान्दर्भिक देखिन्छ।

‘गर्भमा गर्भको बोध’मा मानिस र जनावरबीचको समान संवेदनाको कुरा गरिएको छ। कुकुर र हजुरआमामाथि परिवारले गरेको व्यवहारको समानता देखाउँदै वृद्धावस्था, अशक्तता र निर्भरता सबैको साझा नियति भएको सन्देश दिइएको छ। ‘ग्रहणले लुकाएको सूर्यमा सियोको डोब’मा शंकर धानु पात्रमार्फत निम्नवर्गीय जीवनसंघर्ष प्रस्तुत गरिएको छ। सडकपेटीमा जुत्ता सिलाएर जीविका चलाउने पात्रमार्फत राज्यको उपेक्षा र सामाजिक असमानता उजागर गरिएको छ।

त्यस्तै, ‘कपटीहरूको संगत’मा कार्यालयीय भ्रष्टाचार, घुसखोरी र कामचोरीमाथि व्यंग्य गरिएको छ। यसले प्रशासनिक बेथिति र जिम्मेवारीहीनतालाई उजागर गर्छ। ‘कोरोना’ शीर्षकको निबन्धमा महामारीका बेला मानिसले भोगेको मानसिक र सामाजिक पीडा चित्रण गरिएको छ। त्रास, भ्रम, एकान्त, मृत्युको भय र प्रविधिमा आएको परिवर्तनलाई संवेदनशील ढंगले प्रस्तुत गरिएको छ।

समकालीन राजनीतिमाथि व्यंग्य

निबन्धकारले प्रकृति र मानवीय संवेदनामात्र होइन, देशको राजनीतिक अवस्थाप्रति पनि धारणा व्यक्त गरेका छन्। अन्तिम निबन्ध ‘झर्नुस् झर्नुस् चौरासी आइपुग्यो’ यसैको उदाहरण हो।

ड्राइभर र यात्रुबीचको संवादमार्फत प्रस्तुत यस निबन्धमा समकालीन राजनीतिमाथि तिखो व्यंग्य गरिएको छ। भ्रष्टाचार, सत्ता लोभ, असफल नेतृत्व र जनताप्रतिको बेवास्ता प्रभावकारी रूपमा चित्रण गरिएको छ। चौरासीको चुनावलाई अन्तिम ‘स्टेसन’का रूपमा प्रस्तुत गर्दै पुरानो नेतृत्वमाथि प्रश्न उठाइएको छ।

यसरी निबन्धकारले समाजको तल्लो तहको पीडादेखि उच्च वर्गसम्मका विविध पक्षलाई उजागर गरेका छन्। गरिबी, असमानता, संघर्षशील जीवन र सत्ताबाट पीडित नागरिकहरूको कथा प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ। उनका निबन्धमा मानवीय मनको नियन्त्रण, डाह नगर्ने प्रवृत्ति, तथा प्रकृतिबाट जीवनोपयोगी शिक्षा लिनुपर्ने सन्देश पाइन्छ।

निबन्धहरू तर्कप्रधान नभई कथात्मक संरचनामा बगेका छन्। कथा, उपकथा, पात्र, परिवेश र शैलीको संयोजनले लेखनलाई जीवन्त बनाएको छ। प्रतीकात्मक र संवादको प्रयोग विशेष आकर्षक देखिन्छ।

तर यही कथात्मकता कहिलेकाहीँ निबन्धभन्दा कथा पढिरहेको अनुभूति दिन्छ। कतिपय निबन्धमा अपेक्षित गहिराइ नपुगेको महसुस हुन्छ भने केहीमा विचार स्पष्ट रूपमा केन्द्रित नभएको देखिन्छ। एउटै प्रकृतिका जीवनदर्शन र सन्देशहरू दोहोरिएको अनुभूति पनि हुन्छ।

 ‘धमिराको देवल’ जीवन, समाज र मनोविज्ञानको गहिरो अध्ययन हो। यसलाई निबन्ध मात्र नभई जीवनदर्शनको पाठका रूपमा लिन सकिन्छ। यो कृति पढ्दा पाठकलाई सोच्न, आत्मविश्लेषण गर्न, सम्बन्धलाई पुनः मूल्यांकन गर्न र जीवनलाई नयाँ दृष्टिकोणबाट हेर्न प्रेरित गर्छ।

प्रकाशित: २८ चैत २०८२ ११:४० | Saturday, April 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast