काठमाडौँ- स्व. उज्वल थापाको जीवनयात्रामा आधारित वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ अब ओटीटीमार्फत संसारभर हेर्न सकिने भएको छ।
‘दिमाग घोच्ने मान्छे’ अब आधिकारिक रूपमा डीगो ओटीटी प्लेटफर्ममा प्रदर्शनका लागि तयार भएसँगै संसारभर हेर्न सकिने भएको हो। यस वृत्तचित्रको प्रदर्शनबाट संकलन हुने आम्दानीको मुख्य अंश उज्वल थापा फाउन्डेसनलाई प्रदान गरिने निर्माण पक्षले घोषणा गरेको छ। यस पहलले उज्वल थापाले सुरु गरेका सामाजिक तथा नागरिक अभियानहरूलाई संस्थागत रूपमा निरन्तरता दिन थप सहयोग पुग्ने विश्वास लिइएको छ।
‘दिमाग घोच्ने मान्छेले उज्वल थापाको बाल्यकाल, अमेरिकाको शिक्षा, र नेपाल फर्किएपछि उद्यमशीलतामार्फत देश परिवर्तन गर्न उनले गरेको संघर्षलाई मसिनोसँग केलाएको छ। दुर्लभ भिडियो फुटेज र उनका साथीहरू, सहयात्रीहरू तथा आलोचकहरूको अनुभव मार्फत बुनिएको यो चलचित्रले एक यस्तो मान्छेको चित्रण गर्छ, जसले समाजलाई प्रश्न गर्न र आफैँले जिम्मेवारी लिन सिकाए। यो वृत्तचित्र केवल एक व्यक्तिको जीवनी मात्र नभई, समृद्ध नेपालको सपना देख्ने हरेक नेपालीका लागि एक प्रेरणाको स्रोतका रूपमा प्रस्तुत गरिएको छ।
नेपाल र विश्वभर रहेका दर्शकहरूले डीगो ओटीटीको एपमार्फत यो वृत्तचित्र हेर्न सक्नेछन्। विभिन्न क्षेत्रका लागि शुल्क तोकिएको छ। जसमध्ये नेपालमा १९९ रुपैयाँ तोकिएकव छ भने अमेरिका र अष्ट्रेलियामा ४।९९ डलर तथा बाँकी विश्वका लागि २.९९ डलर निर्धारण गरिएको छ।
उज्वल थापा फाउन्डेसन उज्वल थापाको विचार र सपनाहरूलाई जीवित राख्न स्थापना गरिएको संस्था हो, जसले विशेषगरी युवा नेतृत्व विकास, वैकल्पिक राजनीति र नागरिक सशक्तीकरणका क्षेत्रमा काम गर्दै आएको छ।




