काली-कर्णालीमा फिल्म निर्माणको समस्या र सम्भावनाबारे छलफल

हिमाल प्रेस २४ चैत २०८२ १६:२१ | Tuesday, April 7, 2026
8
SHARES
काली-कर्णालीमा फिल्म निर्माणको समस्या र सम्भावनाबारे छलफल

काठमाडौँ- फिल्ममा मौलिक कथाको बहस चलिरहेकै समयमा काठमाडौँमा ‘फिल्ममा काली-कर्णाली’ विषयमा छलफल भएको छ।

चलचित्र विकास बोर्डको हलमा दुइ चरणमा काली-कर्णालीमा फिल्म निर्माणको समस्या र सम्भावनाबारे छलफल गरिएको हो।।

एभरेस्ट ग्यालरीको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा भएको कार्यक्रमको उद्घाटन बोर्डका अध्यक्ष दिनेशी डिसीले गरेका थिए।

पहिलो चरणमा ‘चलचित्रमा काली कर्णालीः कति समेटियो, कति छुट्यो?’ शीर्षकमा बहस गरिएको थियो।

पत्रकार लक्ष्मी बलायर सहजकर्ता रहेको बहसमा निर्देशक लक्ष्मण सुनार, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली र चलचित्रकर्मी तथा उद्धमी देवेन्द्र बजगाईं वक्ताको रुपमा सहभागी थिए।

उनीहरूले कर्णाली क्षेत्रमा फिल्म छायांकनका लागि आवश्यक लगानी, स्थानीय भाषा, भेषभूषा लगायतका विषयमा छलफल गरेका थिए।

काली र कर्णालीमा कथा धेरै भए पनि लगानी अभावका कारण फिल्म बनाउनुअघि धेरै सोच्नुपर्ने निर्देशक सुनारले बताए।उनले ३ वर्षअघि कर्णालीकै जारी प्रथाको कथामा ‘बुलाकी’ बनाएका थिए। जुन फिल्मले बक्सअफिसमा राम्रो व्यापार गर्न सकेन।

स्थानिय भाषामै फिल्म बनाएकोले अब त्यसमा जोड नदिने उनको भनाई थियो। लगानी पाएको खण्डमा त्यहाँका कथावस्तु र छायांकन स्थललाई पनि व्यवसायिक रुपमा जोड्न सकिने उनको धारणा थियाे।

मोहन निरौलाले पनि काली-कर्णालीमा छायांकन क्षेत्रदेखि कथाका हिसाबले निकै सम्भावना रहेको बताए। ‘प्राय:जसो फिल्ममा काली-कर्णालीका कथा देखाउँदा कि राराको सुन्दरता देखाइन्छ किन गरिबी र भोकमरी बेचिन्छ। सामान्य तथा आधुनिक कथाहरू आउन सकिरहेको छैन,’ उनले भने।

उक्त विषयमा थप्दै जनकदीप पराजुलीले निर्देशकले भावना भन्दा व्यवसायिक हिसाबले फिल्म बनाउने हुँदा जोखिम लिन डराएको स्विकारे। उनले पनि लगानी धेरै लाग्ने भएकोले त्यहाँको कथामा काम गर्न गाह्रो परिरहेको सुनाए।

उद्धमी देवेन्द्र बजगाईंले काली-कर्णालीमा आफूले लगानी जुटाउन पहल गर्ने दाबी गरे।

दोस्रो चरणको प्यानल छलफलमा चलचित्र विकास बोर्डका अध्यक्ष तथा निर्देशक दिनेश डिसी, माननीय ज्ञानेन्द्र शाही, माननीय ऐन महर, माननीय वासना थापा र अभिनेता दीपकराज गिरी सहभागी थिए।

सञ्चारकर्मी डीबी खड्काले सहजीकरण गरेको सेसनमा फिल्मसम्बन्धी नीतिगत विषय, प्रस्तावित विधेयक, काली-कर्णाली क्षेत्रको प्राकृतिक सुन्दरता, भाषागत तथा सांस्कृतिक विविधता र छायांकनका सम्भावनाबारे छलफल भएको थियो।

कार्यक्रमको सुरुवातमा विभिन्न संघ-संस्थाका अध्यक्ष तथा पदाधिकारीहरूले नेपाली चलचित्रमा सुदूरपश्चिम र कर्णाली प्रदेशको सम्भावना, सहभागिता तथा त्यहाँका प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक विषयवस्तुबारे आ-आफ्ना धारणा राखेका थिए।

उक्त विषयमा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा, चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, राजबहादुर साने, सुशील पोखरेल, कर्णाली चलचित्र महोत्सवका अध्यक्ष तथा चलचित्रकर्मी चक्रबहादुर चन्द लगायतले आफ्नो विचार व्यक्त गरेका थिए।

कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्यहरू, सुदूरपश्चिम र कर्णाली प्रदेशका प्रतिनिधित्व कलाकार, सर्जक र सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति थियो।

प्रकाशित: २४ चैत २०८२ १६:२१ | Tuesday, April 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast