बालविकासदेखि राहत शिक्षकसम्मका सहमति तत्काल कार्यान्वयन गरियोस् : अध्यक्ष शाही

हिमाल प्रेस ३० चैत २०८२ १७:१६ | Monday, April 13, 2026
880
SHARES
बालविकासदेखि राहत शिक्षकसम्मका सहमति तत्काल कार्यान्वयन गरियोस् : अध्यक्ष शाही

काठमाडौँ- नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष हंसबहादुर शाहीले वर्तमान अवस्थामा शिक्षक आन्दोलन विभिन्न चुनौतीहरूले घेरिएको बताएका छन्।

सोमबार ललितपुरको कुमारीपाटीस्थित संगठनको कार्यालयमा आयोजित ४७औँ शिक्षक दिवस तथा नव वर्ष २०८३ को अवसरमा आयोजित विशेष कार्यक्रममा उनले संविधानअनुसार संघीय शिक्षा ऐन जारी हुन नसक्नु मुख्य समस्याका रूपमा औँल्याए।

उनले बालविकास शिक्षक (ईसीडी) देखि विद्यालय कर्मचारी, नर्स, राहत, विशेष शिक्षा, प्राविधिक धार, स्थायी तथा अस्थायी, करार, अनुदान र निजी क्षेत्रका शिक्षक कर्मचारीसम्मका बीच असमानता कायम रहेको बताए।

विगतमा भएका आन्दोलन, सम्झौता र सहमतिहरूको कार्यान्वयनमा ढिलासुस्ती भइरहेको पनि उनको भनाइ थियो।

अध्यक्ष शाहीले स्थानीय तहमा उत्पन्न समस्याहरू, शिक्षाको निजीकरणको बढ्दो प्रभाव र शिक्षण पेसामा ट्रेड युनियन अधिकारको सवालमा नेपाल शिक्षक महासंघको उदासीनता समेत चुनौतीका रूपमा रहेको उल्लेख गरे।

उनले भने,‘वर्तमान अवस्थामा शिक्षक आन्दोलन विभिन्न चुनौतीहरूको सामना गरिरहेको छ। संविधानअनुसार संघीय शिक्षा ऐन जारी हुन नसक्नु, विभिन्न तहका शिक्षक-कर्मचारीबीच असमानता कायम रहनु, सम्झौता कार्यान्वयनमा ढिलासुस्ती हुनु र शिक्षाको निजीकरणको चुनौती बढ्दै जानु गम्भीर समस्या हुन्।’

अध्यक्ष शाहीले शिक्षकको सम्मान र अधिकार सुनिश्चित नगरी गुणस्तरीय शिक्षा सम्भव नहुने धारणा राखे। उनले भने,‘गुणस्तरीय शिक्षा शिक्षकको सम्मान र अधिकार सुनिश्चितताबाट मात्र सम्भव हुन्छ। शिक्षकको संवैधानिक अधिकार कुण्ठित गरेर शिक्षा सुधार सम्भव छैन।’

प्रकाशित: ३० चैत २०८२ १७:१६ | Monday, April 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast