कूटनीति बुझेका सांसद खगेन्द्रको जोड आधुनिक कृषि विकासमा

हिमाल प्रेस १९ चैत २०८२ २०:५२ | Thursday, April 2, 2026
48
SHARES
कूटनीति बुझेका सांसद खगेन्द्रको जोड आधुनिक कृषि विकासमा

काठमाडौँ- खगेन्द्र कर्ण मधेशी कलस्टरबाट समानुपातिक सांसद हुन्। उनी यतिबेला मधेशकै ‘की फ्याक्टर’ बनेका छन्।

उनलाई प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सल्लाह गर्ने समूहको एक सारथीको रूपमा राखेका छन्। रास्वपामा जानुअघि कांग्रेसभित्र डा‍. शेखर कोइराला खेमा निकटस्थ रहेका उनी यतिबेला बालेन सरकार सफल बनाउन छिमेकी भारतसँगको सम्बन्धलाई मजबुत बनाएर अघि बढ्न सक्रिय बनेका छन्।

संसद्को बैठकमा सहभागी भएसँगै उनले सुनाए- संसद्मा अनुहार फेरिएको मात्र होइन अब कामको शैली पनि फेरिन्छ भन्ने कुरा आज हाम्रा सभापतिले गर्नुभएको सम्बोधनबाट स्पष्ट भएन र?

एउटा संसार बनाउन खोजिएको छ तर पुरानाको शैली उही देखिन्छ भन्दै उनले भने, ‘हामीले वाचा अनुसार काम गरेर देखाउने हो। जनताको मनमा हामी सधैँ रहने छौँ। यसो आजको एमालेको संसदीय दलको नेता बन्ने शैली र भाषण सुन्दा पनि नेपाल पनि अब छिट्टै कम्युनिस्ट मुक्त मुलुक बन्ने लाइनमा छ।’

लोकतान्त्रिक सोच राख्ने खगेन्द्र सामान्य परिवारका व्यक्ति हुन्। उनी सप्तरी कन्चनरुप नगरपालिका-८ का बासिन्दा हुन। उमेरले ४० कटेका उनी कन्चनरुपको सर्वोदय टोलका होनाहार विद्यार्थी पनि हुन्। उनका बुबा भूपेन्द्रनारायण कर्णले स्टेसनरी पसल सञ्चालन गरेर उनलाई इन्जिनियर बनाएका हुन्। उनी इन्जिनियर भएर आफ्नै कम्पनी खोलेर काम पनि गरिरहेका थिए तर उनलाई लोकतान्त्रिक पथको राजनीतिक यात्राको चस्का पनि थियो। त्यही चस्काले उनी प्रतिनिधिसभा सदस्य बन्न सफल भए।

उनले हिमालप्रेसमा लामो समयदेखि राजनीतिक विषयमा लेख रचना पढाउने समेत गर्थे। बीपीलाई आदर्श मान्ने उनी कांग्रेस गुटबन्दी र पीएहरूको चरम घेराले कमजोर बन्दै गएको बताउँछन्।

सर्वोदय माध्यमिक विद्यालय कञ्चनरूपमा कक्षा १० सकेपछि उनले सरकारी छात्रवृत्तिमा पोखरा पुगेर इन्टरमिडिएट इन्जिनियरिङ (आईई) गरे। केही समय काम पनि गरे अनि इन्जिनियरिङ कलेज काठमाडौँबाट ब्याचलर अफ इन्जिनियरिङ सकेको उनी राजनीतिक शास्त्रमा उच्चशिक्षा हासिल गर्ने क्रममा छन्।

हुन त उनी इन्जिनिरिङ पढिरहँदा नै ०६२/०६३ को लोकतान्त्रिक आन्दोलनमा होमिएका थिए। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को सक्रिय सदस्यका रूपमा विद्यार्थी राजनीतिमा होमिएर उनी लोकतात्रिक आन्दोलमा सामेल भएका थिए। उनी नेविसंघमा विभिन्न जिम्मेवारी लिँदै पूर्वाञ्चल विश्वविद्यालय नेविसंघका संस्थापक अध्यक्षसम्म बने।

तर नेविसंघको ११ औँ महाधिवेशनमा उनले उपाध्यक्षमा हार बेहोरे। केही समयपछि उनी नेपाल तरुण दलको केन्द्रीय सदस्यका रूपमा मनोनीत भए। तरुण दलको केन्द्रीय सदस्यमा तीन वर्ष जिम्मेवारी निभाए। डेढ दशक नेपाली कांग्रेसमा सक्रिय रहे। तर कांग्रेसमा युवाको कुरा सुनिन छोड्यो र पीएहरू हाबी भयो भन्दै उनी केही समय निराश बनेका थिए।

कांग्रेसलाई कसले सच्याउने भन्दै लेखहरू पनि लेखे। बालेन रास्वपामा जाने भएपछि उनी पहिलेदेखि निकट रहेकाले उनी पनि बालेन समूहबाट रास्वपा प्रवेश गरे। उनी आफू त भन्दैनन्। तर उनी निकटकाहरू सुनाउँछन्- बालेनले तराईको उम्मेदवार तय गर्ने देखि त्यहाँको मतदाता अध्ययन गर्ने जिम्मा समेत खगेन्द्रलाई दिएका थिए। खगेन्द्रले  तराईमा रास्वपाको राम्रो उपस्थित हुने र अधिक जित हासिल गर्ने बताएका थिए।

त्यही अनुरुप उनी उम्मेदवार छनौटमा अमरेश सिंह र मनिस झासँग नजिक रहेर काम गरे। हँसिला र निकै फूर्तिला देखिने खगेन्द्र सबैसँग छिट्टै घुलमिल हुन्छन्। अनि सानो सानो विषयलाई पनि मिहीन ढंगले अध्यन गर्छन् र सुझाउने काम गर्छन्। उनको सानैदेखिको बानी पनि हो त्यो। स्कुल पढ्दा होस् या इन्जिनियरिङ गर्दा। उनको जीवनशैली पनि समान्य छ। राजनीतिमा लागेको मानिस सामान्य नै हुनुपर्ने उनी बताउँछन्, ‘हामी न व्यापारी न बिचौलिया, कसरी हाइफाइ गर्ने? राजनीतिमा होमिएपछि सामान्य जीवन जिउनुपर्छ।’ बीपी, कृष्णप्रसाद मात्र होइन तराईका कैयन् नेताहरूको सामान्य शैली पढ्दा लोभ लाग्ने उनी सुनाउँछन्।

मधेशी कलस्टरबाट समानुपातिकमा प्रतिनिधि सभा सदस्य हुन्छु भनेर उनी त्यता लागेका पनि थिएनन्। किनकी उनले बल गरेको भए एक नम्बरमै नाम राख्न सक्थे। उनी आफ्ना लागि भन्दा पनि दललाई बलियो बनाउनुपर्छ, दल बलियो भयो भने व्यक्ति त यसै बलियो हुन्छ भन्ने मान्यता राख्छन्।

उनलाई वर्तमान प्रधानमन्त्रीले मन्त्रीको रूपमा लिने भएको भए पनि उनी प्रत्यक्ष नागरिकसँग जोडिएको मन्त्रालय लिन्थे। उनलाई भुईमान्छेहरुसँग जोडिएर काम गर्न मन लाग्छ। उनी मन्त्री नै नभए पनि कूटनीतिक वृत्तमा राम्रो छवि बनाएका हुनाले मल, बीउबीजनदेखि अन्य सहयोग सहकार्यमा भारत र अनय मुलुकसँग छलफल गर्ने र सघाउने कार्यमा पनि उत्तिकै सक्रिय छन्।

उनी स्पष्ट भन्छन्, ‘नेपालले पानी ढलो अनुरुप सम्बन्धलाई अब्बल बनाउन आवश्यक छ। दुवै छिमेक र शक्ति मुलुकसँग सम्बन्ध राम्रो बनाएर अघि बढ्न सक्नैपर्छ। हामी पनि अन्य सरकारझैँ अलमलमा पर्न हुँदैन। स्पष्टरूपमा अघि बढ्नुपर्छ। त्यसमा हाम्रो प्रधानमन्त्री दृढ हुनुहुन्छ हामी सहयोगी हातको रुपमा रहनेछौँ।’

मुलुकलाई समृद्ध र नेपाली जनतालाई सुखी बनाउने अभियानमा रास्वपा सरकार रहेको र आम नागरिकलाई निराश पार्ने काम रास्वपाबाट हुँदै नहुने उनको दाबी छ। उनी अहिले पनि प्रतिनिधिसभा सदस्यका रूपमा कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर योजनाहरू ल्याउनमा आफ्नो जोड रहेको बताएका छन्।

कृषिमा आत्मनिर्भर भएर निर्यात गर्न सकेको खण्डमा मात्र मुलुकको विकास हुने भदै उनले भने, ‘नेपाल कृषि क्षेत्रमा अत्यधिक सम्भावना बोकेको मुलुक हो। तर यहाँका कृषकलाई जहिले उन्नत बीउ, मल र सिँचाइका लागि अभाव र समस्या भइरहन्छ। जुन मेरो परिवारले पनि भोगेको विषय हो।’ विश्वमा आफूलाई अग्रणी देशमा उभ्याएकाले पनि कृषिमा नै छलाङ मारेर अघि बढेका हुन् भन्ने विषय बिर्सन नहुने उनले बताए।

मुलुकले भूमिगत सिँचाइलाई उपयोग गर्न नसकेको अवस्था छ। अनि खहरेमा भर परेको अवस्था पनि उत्तिकै छ। बिचौलियामुक्त कृषि क्षेत्र अहिलेको आवश्यकता हो। उनले व्यावसायिक कृषिका लागि योजना ल्याउन सके मात्रै देश समृद्ध हुन समय नलाग्ने बताए। सरकारले यसमा अडेर विभिन्न योजना ल्याउन सक्नुपर्ने उनको धारणा छ। यसका लागि प्रधानमन्त्री वा सम्बन्धित मन्त्रीसँग बसेर छलफल पनि गरिरहने उनको भनाइ छ।

‘अन्य क्षेत्रको पनि सम्भावना छ नेपालमा। तर कृषि क्षेत्रका लागि ठूल्ठूला योजनाहरू दीर्घकालीन रूपमा ल्याउनुपर्छ। त्यसले पक्कै पनि कृषकको जीवनस्तर र आर्थिकस्तर उकास्न मद्दत पुग्छ,’ खगेन्द्रले भने, ‘कृषि क्षेत्रलाई व्यावसायीकरण गर्दै जाँदा पर्यटनको पाटो पनि राम्रो हुनेछ। अनि नेपालभित्रैको उत्पादन यही खपत हुनेछ। जसले गर्दा मुलुकको विकासमा टेवा पुग्नेछ।’

यस्ता योजनाहरु नीति तथा कार्यक्रममा समावेश गराउन उनी लागि पर्नेछन्। मधेशका ८ जिल्लामा शिक्षा र स्वास्थ्यको स्तर खस्किँदै गएको भन्दै सांसद कर्णले त्यसमा सुधार गर्नका लागि पूर्ववर्ती सरकारले ल्याएका योजना नै पूरा गर्नमा जोड दिने पनि बताए।

मधेशका जिल्लामा शिक्षा र स्वास्थ्यको अवस्था अत्यधिक खस्किँदो रहेको भन्दै उनले भने, ‘मधेशका नागरिकलाई शिक्षा र उपचारका लागि विराटनगर–काठमाडौं धाउनुपर्ने अवस्थाबाट मुक्त गर्न आवश्यक छ। त्यसलाई सुधार गर्नका लागि पूर्ववर्ती सरकारले ल्याएका रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान र बर्दिवास मेडिकल कलेजलगायतका योजना समयमै सम्पन्न गर्नेतर्फ मेरो जोड हुनेछ।’

कूटनीतिमा समेत निकै चासो राख्ने खगेन्द्रले भारत चीन र अन्य मुलुकका नेपालस्थित अधिकारीसँग छलफल गर्ने मुलुकको विषयमा चिन्ता व्यक्त गर्ने उनीहरुलाई सहयोग गर्न आग्रह गर्ने गर्दै आएका छन्। उनले नेपालमा पर्यटनको अपार सम्भावना छ भने हाइड्रोपावरमा लगानी गर्न विदेशी कम्पनीहरू इच्छुक रहेको देखिन्छन् तर सरकारले नीति ल्याएर हाम्रा छिमेकसँग पनि कैयन् सहकार्य गर्न सकिने उनको जोड छ।

यसका साथै उनले अन्य निःशुल्क आयोजनाका साथै पर्यटन क्षेत्रमा काम गर्नका लागि सरकारलाई घचघच्चाउने मात्र होइन योजनासहित बुझाउने तयारी छ। उनले नेपालका राजदूतहरूले कहाँ कति काम गरे, के का लागि राजदूत पठाएको विषयमा समेत चासो राख्ने गरेका छन्।

उनले यस्ता विषयमा परराष्ट्रमन्त्रीसँग बसेर छलफल गर्न बाँकी भएको पनि बताउँछन्। विदेशी लगानी भित्र्याउन नसक्ने राजदूत अनि सधैँ आफ्नो कुरा मात्र गर्ने राजदूतका विषयमा सरकार गम्भीर हुन पर्नेमा उनको जोड छ। कर्मचारीहरू पनि राजदूत भएर जाने अनि आराम गर्ने विषयलाई उनले आफ्नो लेखहरूमार्फत पनि उठाउँदै आएका छन्।

प्रकाशित: १९ चैत २०८२ २०:५२ | Thursday, April 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast