काठमाडौँ- प्रतिनिधिसभाको उपसभामुख चयनका निम्ति आज उम्मेदवारी दर्ता हुँदैछ । संसद् सचिवालयले सार्वजनिक गरेको उपसभामुखको निर्वाचन कार्यतालिकाअनुसार, उम्मेदवारी दर्ताका लागि बिहान ११ देखि दिउँसो २ बजेसम्मको समय तोकिएको छ ।
प्रतिनिधिसभाका सचिव हर्कराज राईले प्रकाशन गरेको सूचनामा बिहीबार नै दिउँसो २:३० बजे उम्मेदवारीको सूचना दर्ता क्रमअनुसार प्रकाशन गर्ने उल्लेख छ। २७ गते उपसभामुखको निर्वाचन हुँदैछ। संविधान अनुसार सभामुख र उपसभामुख फरक–फरक लिंग र फरक–फरक हुनुपर्ने व्यवस्था भएकाले कसले पाउने हो भन्ने निश्चित छैन।
प्रतिनिधिसभा नियमावलीको नियम ७ मा उपसभामुखको निर्वाचन सभामुखले तोकेको दिन र समयमा हुने व्यवस्था छ । यसअनुसार अर्यालले उपसभामुखको निर्वाचनको मिति तोकेका हुन् । प्रतिनिधिसभामा रास्वपासहित नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी छन्। २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपा १८२ सांसदसहित सहज एकल बहुमतमा छ । कांग्रेसका ३८, एमालेका २५, नेपाली कम्युनिस्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ सांसद छन् ।
रास्वपा एकल बहुमतमा रहेकाले उसले जसलाई समर्थन गर्छ, त्यही उपसभामुख हुनेछ। उपसभामुखमा एमाले बाहेकका दलले दाबी गरेका छन्। तर, रास्वपाले कुनै पनि दललाई ‘ग्रिन सिङ्नल’ दिएको छैन। रास्वपा नेताहरू दलहरूसँग छलफल जारी रहेको तर निष्कर्ष निस्किन सकेको जानकारी दिए। हालसम्म नेकपा, राप्रपा र श्रम संस्कृति पार्टीले उपसभामुखमा दाबी गरेका छन्। स्रोतका अनुसार रास्वपाले राप्रपा र श्रम संस्कृतिमध्ये एकलाई समर्थन दिने छ।




