आर्थिक समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य अपरिहार्य : राष्ट्रपति पौडेल

हिमाल प्रेस २७ चैत २०८२ ११:५६ | Friday, April 10, 2026
आर्थिक समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य अपरिहार्य : राष्ट्रपति पौडेल नेपाल चेम्बर अफ कमर्सको ७५ औँ वार्षिक साधारण सभा तथा हीरक जयन्ती समारोहलाई शुक्रबार काठमाडौँमा सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेल। तस्बिर स्रोत : शीतल निवास

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले व्यापार व्यवसाय, उद्योगधन्दा र आर्थिक क्रियाकलापको विकास तथा विस्तार आर्थिक समृद्धिको मूल आधार भएको धारणा व्यक्त गरेका छन्। उनले संघीय लोकतान्त्रिक गणतन्त्र अझ सुदृढ बनाउन जनताले चाहेको आर्थिक समृद्धितर्फ जुट्न सबैलाई आह्वान गरेका छन्।

राष्ट्रपति पौडेलले नेपाल चेम्बर अफ कमर्सको ७५ औँ वार्षिक साधारणसभा तथा हीरक जयन्ती समारोहलाई शुक्रबार काठमाडौँमा सम्बोधन गर्दै उक्त धारणा व्यक्त गरेका हुन्।

‘मुलुकलाई एउटा जटिल परिस्थितिबाट निकास दिन सफलतापूर्वक सम्पन्न भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनले जननिर्वाचित संसद् र सरकारलाई सुशासनमार्फत आर्थिक समृद्धि र चुस्त सेवा प्रवाह गरी जनताको जीवनस्तर उकास्ने गहन दायित्व सुम्पेको छ। राज्यको यो दायित्व पूरा गर्न निजी क्षेत्रको पनि त्यत्तिकै भूमिका हुन्छ। त्यसैले निजी क्षेत्रलाई विकासको अभियानमा साथ लिएर सरकार अघि बढ्न जरुरी छ भन्ने उनी ठान्छन्’, उनले भने।

राजनीतिक स्थिरता आर्थिक समृद्धिको आधार भएको उल्लेख गर्दै उनले स्थिर सरकार, स्पष्ट नीति र दिगो रणनीतिले मात्र औद्योगिक विकास, लगानी विस्तार र रोजगारी सिर्जनालाई गति दिन सक्ने बताएका छन्। ‘आजको युवा पुस्ता देशको भविष्य हो। उनीहरूलाई स्वदेशमै अवसर सिर्जना गर्न सके मात्र ब्रेन ड्रेन रोक्न सकिन्छ। उद्यमशीलता, प्रविधि र सिर्जनशीलताको माध्यमबाट युवालाई आर्थिक गतिविधिमा जोड्नु आजको आवश्यकता हो,’ उनले भने।

स्थिर, पारदर्शी र उत्तरदायी शासन प्रणाली निर्माणमा सबैले ध्यान दिनुपर्ने उनको भनाइ थियो। साथै संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय सुदृढ बनाउँदै समग्र विकास प्रक्रियालाई गति दिनुपर्नेमा उनले जोड दिएका छन्।

‘आजको विश्व प्रतिस्पर्धात्मक अर्थतन्त्रको युगमा परम्परागत सोचभन्दा बाहिर निस्केर नवीनता, नवप्रवर्तन र साहसिक निर्णय आवश्यक छन्। डिजिटल अर्थतन्त्र, हरित विकास, प्रविधिमा आधारित उद्यमशीलता र स्टार्टअप संस्कृतिको विकास आजको आवश्यकता हो,’ उनले भने।

उनले निजी क्षेत्रलाई केवल कर तिर्ने निकायका रूपमा नभई राष्ट्र निर्माणको साझेदारका रूपमा हेर्न आवश्यक रहेको बताए। ‘निजी क्षेत्र सबल भए मात्र राष्ट्रको अर्थतन्त्र सबल हुन्छ। निजी क्षेत्र केवल आर्थिक वृद्धिको आधार मात्र होइन, देशको आर्थिक इञ्जिन हो भन्ने उनी ठान्छन्,’ उनले भने।

मुलुकको आर्थिक समृद्धि, उद्योग–व्यवसायको प्रवर्द्धन, लगानीमैत्री वातावरण निर्माण तथा उद्यमशीलताको विकासमा निजी क्षेत्रको प्रतिनिधिमूलक पहिलो संस्थाले निरन्तर दिएको योगदान प्रशंसनीय रहेको उनले बताएका छन्।

‘कोभिड महामारीको प्रभाव, आपूर्ति शृंखलामा आएको अवरोध, उत्पादन तथा व्यापारमा आएको गिरावट र त्यसपछिको आर्थिक व्यवस्थापनमा देखिएको कमजोरीले अर्थतन्त्र प्रभावित भएको अवस्थामा निजी क्षेत्र र सरकारबीचको सहकार्य अझ सुदृढ हुन आवश्यक छ,’ उनले भने।

प्रकाशित: २७ चैत २०८२ ११:५६ | Friday, April 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast