काठमाडौँ- भारत सरकारको अनुदान सहयोगमा नेपालका विभिन्न सातवटा जिल्लामा ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ कार्यान्वयन हुने भएको छ।
शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रका यी सातवटा आयोजनाका लागि बिहीबार समझदारीपत्रमा हस्ताक्षर भएको हो।
कुल ४७ करोड ३० लाख नेपाली रूपैयाँ अनुमानित लागत रहेको यी परियोजना कार्यान्वयनका लागि काठमाडौँस्थित भारतीय राजदूतावास, नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सम्बन्धित स्थानीय तहका प्रतिनिधिबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।
परियोजनाअन्तर्गत गण्डकी प्रदेशको नवलपुर (मध्यविन्दु नगरपालिका) र कोशी प्रदेशको तेह्रथुम (लालीगुराँस नगरपालिका) मा कोल्ड स्टोर निर्माण गरिनेछ।
मुस्ताङको जनबल माध्यमिक विद्यालय, कैलालीको कालिका प्राथमिक विद्यालय, डोल्पाको कस्तुरी माध्यमिक विद्यालय र बाँकेको जनकल्याण माध्यमिक विद्यालयमा भवन, छात्रावास र चमेनागृह निर्माण हुने काठमाडौँस्थित भारतीय दूतावासले जनाएको छ।
त्यस्तै रौतहटको परोहा नगरपालिकामा परोहा बर्थिङ सेन्टर निर्माण गरिने भएको छ। यी आयोजनाहरू स्थानीय तहमार्फत कार्यान्वयन हुने जनाइएको छ।
सन् २००३ देखि सुरू भएको यो सहयोग कार्यक्रमअन्तर्गत भारतले हालसम्म नेपालमा ५९८ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनारू अगाडि बढाएको छ। जसमध्ये स्वास्थ्य, शिक्षा, खानेपानी र पूर्वाधारका क्षेत्रमा ५०६ वटा आयोजनाहरू सम्पन्न भइसकेको र बाँकी कार्यान्वयनमा रहेको दूतावासले जनाएको छ।




