शिक्षक कार्यसम्पादन मूल्यांकन फाराम व्यवस्थित बनाउन आयोगको निर्देशन

हिमाल प्रेस २६ चैत २०८२ १४:५८ | Thursday, April 9, 2026
72
SHARES
शिक्षक कार्यसम्पादन मूल्यांकन फाराम व्यवस्थित बनाउन आयोगको निर्देशन

काठमाडौँ- शिक्षक सेवा आयोगले शिक्षकको कार्यसम्पादन मूल्यांकन फाराम व्यवस्थापनलाई व्यवस्थित बनाउन देशभरका स्थानीय तह र सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

आयोगले बुधबार (चैत २५ गते) जारी गरेको परिपत्रमा शिक्षकले शैक्षिक सत्र सुरु भएको ३० दिनभित्र कार्यसम्पादन मूल्यांकन फाराम भरी विद्यालयमा दर्ता गरी प्रधानाध्यापकलाई बुझाउनुपर्ने प्रावधान पुनः स्मरण गराएको छ।

आयोगका अनुसार शिक्षकले कार्यसम्पादन मूल्यांकन फाराम निर्धारित ढाँचामा भरी, हस्ताक्षर र मिति उल्लेख गरी २०८३ वैशाख ३० भित्र विद्यालयको मूल दर्ता किताबमा दर्ता गरेर प्रधानाध्यापकसमक्ष पेस गर्नुपर्नेछ।

परिपत्रमा फाराम व्यवस्थापनमा देखिएका समस्यालाई ध्यान दिँदै आवश्यक सहजीकरणका लागि आयोगको वेबसाइटमा उपलब्ध ‘कार्यसम्पादन मूल्यांकन सहजीकरण पुस्तिका २०८२’ अध्ययन गर्न पनि आग्रह गरिएको छ।

आयोगले शिक्षकलाई फाराम भर्दा प्रत्येक खण्डको निर्देशन ध्यानपूर्वक पालना गर्न, आवश्यक कागजात संलग्न गर्न तथा फाराम बुझाएको निस्सा अनिवार्य रूपमा लिन निर्देशन दिएको छ। ‘निर्धारित मितिभन्दा अगाडि वा पछाडि दर्ता भएका फाराममा कुनै कारबाही नहुने आयोग जनाएको छ।

त्यस्तै, तहअनुसार फरक रङको फाराम प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ। प्राथमिकका लागि निलो, निम्न माध्यमिकका लागि हरियो र माध्यमिक तहका लागि पहेँलो छ।

प्रधानाध्यापकलाई पेस भएका फारामको विवरण पूरा भए/नभएको यकिन गर्न, निर्धारित समयभित्र सुपरीवेक्षण गरी सम्बन्धित निकायमा पठाउन र सबै शिक्षकका फाराम सिलबन्दी गरेर स्थानीय तहमा पठाउन निर्देशन दिइएको छ।

स्थानीय तहका शिक्षा शाखालाई शिक्षक तथा प्रधानाध्यापकलाई जानकारी गराउन, समयमै प्राप्त फाराम दर्ता गर्न तथा अपूर्ण विवरण भएका फाराम सच्याउन लगाउने जिम्मेवारी दिइएको छ।

शिक्षा विकास तथा समन्वय एकाइलाई जिल्लाभरिका स्थानीय तहसँग समन्वय गरी फाराम संकलन गर्ने र असार मसान्तसम्म पुनरावलोकन सम्पन्न गरी साउन १५ भित्र सम्बन्धित निर्देशनालयमा पठाउन भनिएको छ।

प्रकाशित: २६ चैत २०८२ १४:५८ | Thursday, April 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast