अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनफिङ। फाइल तस्बिर
काठमाडौँ- पाकिस्तानको राजधानी इस्लामाबादमा शनिबार ११ दिन इरानी र अमेरिकी प्रतिनिधिमण्डलबीच वार्ता हुने तय भएको छ। स्थायी युद्धविरामका लागि हुन लागेको वार्ताको मध्यस्थता पाकिस्तानले गरिरहेको भए पनि समाचार संस्था एएफपीले आधिकारिक स्रोत र विज्ञहरूलाई उधृत गर्दै स्थायी युद्धविराम सुनिश्चित गर्न चीनको महत्त्वपूर्ण भूमिका रहने जनाएको छ।
स्रोतहरूका अनुसार अस्थायी युद्धविरामका लागि इरानलाई मनाउन पनि चीनले योगदान गरेको थियो। वार्ताबारे जानकारी राख्ने एक पाकिस्तानी अधिकारीले एएफपीसँग भने, ‘युद्धविरामको रात आशा मन्द हुँदै गएको थियो, तर चीनले हस्तक्षेप गरेर इरानलाई प्रारम्भिक युद्धविराममा सहमत गरायो।’
नाम नखुलाउने सर्तमा ती अधिकारीले पाकिस्तानको प्रयास महत्त्वपूर्ण भए पनि निर्णायक सफलता हासिल हुन नसकेको र अन्ततः बेइजिङले इरानलाई मनाएपछि मात्र सफलता प्राप्त भएको बताए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि एएफपीसँग इरानलाई वार्तामा ल्याउन चीनको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्।
चीन र इरानबीच निकट सम्बन्ध छ। अमेरिकी प्रतिबन्ध भए पनि चीन वर्षौँसम्म इरानको सबैभन्दा ठूलो व्यापारिक साझेदार रहँदै आएको छ। अर्को एक कूटनीतिक स्रोतले एएफपीलाई जानकारी दिँदै इरानले सहजकर्ता माग गरेको र त्यसका लागि चीनलाई नै सहजकर्ताका रूपमा चाहेको उल्लेख गरेको छ। धेरै विज्ञ तथा पूर्व अधिकारीहरूका अनुसार पाकिस्तानले मध्यस्थता गरिरहेको भए पनि सबैको ध्यान चीनको भूमिकामाथि केन्द्रित छ।




