निर्माणाधीन प्रदेश रंगशालाको काम छिटो टुंग्याउन मुख्यमन्त्री कँडेलले दिए निर्देशन

हिमाल प्रेस २९ चैत २०८२ १०:३६ | Sunday, April 12, 2026
14
SHARES
निर्माणाधीन प्रदेश रंगशालाको काम छिटो टुंग्याउन मुख्यमन्त्री कँडेलले दिए निर्देशन

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दशौ राष्ट्रिय खेलकुदको तयारीमा लाग्नका लागि निर्माणाधीन प्रदेश रंगशालाको काम छिटो टुंग्याउन निर्देशन दिएका छन्। कर्णाली प्रदेश खेलकुद विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कडेलले रंगशालाको काम टुंग्याउन बजेट समेत विनियोजन भैसकेको बताउदै वाँकी काममा ढिला गर्न नहुने बताए।

रंगशाला निर्माणको बाँकी काम सम्पन्न गरेर हस्तान्त्रण गर्ने वातावरण मिलाउन निर्माण व्यवसायी तथा सरोकारवाला पक्षलाई सक्रिय हुन उनले आग्रह गरे। ‘अब कुनै पनि कारण देखाएर काम रोक्ने अवस्था रहनु हुँदैन, सबै पक्ष मिलेर छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्नुपर्छ,’ उनले भने।

उनले निर्माण व्यवसायीलाई कार्यतालिका अनुसार काम अघि बढाउन र बाँकी रहेका कामहरू निश्चित समयसीमाभित्र पूरा गर्ने काममा लगाउन निर्देशन दिए। निर्माण कार्यको प्रभावकारी अनुगमन र समन्वय आवश्यक रहेको उल्लेख गर्दै उनले जिम्मेवार निकायहरूलाई आफ्नो भूमिकामा गम्भीर हुन आग्रह गरे।

रंगशाला सम्पन्न भएसँगै कर्णाली प्रदेशमा खेलकुद गतिविधि विस्तार हुने र नयाँ अवसर सिर्जना हुने विश्वास पनि उनले व्यक्त गरे। मुख्यमन्त्री कँडेलले खेलकुद क्षेत्रको समग्र विकासका लागि दीर्घकालीन योजना आवश्यक रहेको बताए। उनले खेलाडीहरूको क्षमता अभिवृद्धि, नियमित प्रशिक्षणको व्यवस्था, आवश्यक पूर्वाधार निर्माण तथा प्रतियोगिताहरूको निरन्तर आयोजनामा ध्यान दिनुपर्नेमा जोड दिए। कर्णालीमा खेलकुद क्षेत्रको सम्भावना प्रशस्त रहेको भन्दै त्यसलाई व्यवस्थित रूपमा अघि बढाउनुपर्ने उनको भनाइ थियो।

उनले आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता लाई लक्षित गर्दै आवश्यक तयारीमा जुट्न निर्देशन दिएका छन्। प्रतियोगिता सफलतापूर्वक आयोजना गर्न पूर्वाधार, खेलमैदान, आवास तथा व्यवस्थापनका पक्षहरू समयमै सुनिश्चित गर्नुपर्ने उनले बताए। कर्णालीका विभिन्न जिल्लामा आवश्यक खेल पूर्वाधार निर्माण गर्न स्पष्ट योजना, लागत अनुमान र बजेटसहित संघीय सरकारसमक्ष प्रस्ताव पेश गर्न उनले सम्बन्धित निकायलाई निर्देशन दिए।

मुख्यमन्त्री कँडेलले हाल बजेट तयारीको चरणमा रहेको उल्लेख गर्दै खेलकुद क्षेत्रका योजनाहरू योजना बैंकमा समावेश गर्न आग्रह गरे। चालु आर्थिक वर्षको बजेटको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउँदै उनले उपलब्ध स्रोतको अधिकतम सदुपयोग गर्नुपर्नेमा जोड दिए।

उनले कुनै पनि कार्यक्रम परिषद् बैठकबाट अनुमोदन गरेर मात्र कार्यान्वयनमा लैजानुपर्ने स्पष्ट पारे। कुन खेल कहाँ सञ्चालन गर्ने भन्ने विषय यसै वर्ष र आगामी वर्षका लागि स्पष्ट रूपमा निर्धारण गरी सोहीअनुसार बजेट व्यवस्थापन गर्नुपर्ने उनको भनाइ थियो।

बैठकमा परिषद्का पदाधिकारीहरूले निर्माणाधीन रंगशालाको वर्तमान प्रगति, देखिएका चुनौती र आगामी कार्ययोजनाबारे जानकारी गराएका थिए। कार्यक्रममा सहभागीहरूले समन्वय, स्रोत व्यवस्थापन र प्रभावकारी अनुगमनमार्फत निर्माण कार्यलाई गति दिन सकिने धारणा व्यक्त गरेका थिए।

प्रकाशित: २९ चैत २०८२ १०:३६ | Sunday, April 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast