क्यानले सार्वजनिक गर्‍यो दुईवटा लिग-२ त्रिकोणात्मक शृङ्खलाको तालिका

हिमाल प्रेस २४ चैत २०८२ १९:१५ | Tuesday, April 7, 2026
6
SHARES
क्यानले सार्वजनिक गर्‍यो दुईवटा लिग-२ त्रिकोणात्मक शृङ्खलाको तालिका

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) तथा नेपाल, स्कटल्याण्ड र अमेरिका सम्मिलित आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गतका दुईवटा त्रिकोणात्मक शृङ्खलाको तालिका सार्वजनिक गरेको छ।

क्यानका अनुसार ओमान र यूएईसँगको पहिलो त्रिकोणात्मक शृङ्खला काठमाडौँमा अप्रिल २५ देखि मे ५ सम्म खेलिनेछ।

तालिकाअनुसार नेपालले अप्रिल २५ र मे १ मा यूएईको सामना गर्नेछ भने ओमान विरुद्धका खेलहरू अप्रिल २९ र मे ५ का लागि तय गरिएका छन्। त्यसै गरी ओमान र यूएईबीच अप्रिल २७ र मे ३ मा प्रतिस्पर्धा हुनेछ।

यो शृङ्खला सुरुमा मार्च १० देखि २० सम्म हुने तय भए पनि पश्चिम एसियामा बढ्दो तनावका कारण स्थगित गरिएको थियो।

त्यस्तै, स्कटल्याण्ड र अमेरिकासँगको नेपालको दोस्रो त्रिकोणात्मक शृङ्खला मे १२ देखि २२ सम्म खेलिनेछ।

नेपालले मे १२ र मे १८ मा स्कटल्याण्डसँग खेल्नेछ भने मे १६ र मे २२ मा अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ। यसै गरी अमेरिका र स्कटल्याण्डबीच मे १४ र मे २० मा खेल हुनेछ।

यी सबै खेलहरू त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन्।

हालको अंक तालिकाअनुसार अमेरिका ३६ अंक (२४ खेल) का साथ पहिलो स्थानमा छ। स्कटल्याण्ड ३२ अंक (२६ खेल)का साथ दोस्रो स्थान, ओमान २७ अंक (२२ खेल) सहित चौथो स्थान, नेपाल १२ अंक (२० खेल)सहित सातौं र यूएई १० अंक (२० खेल)सहित आठौं स्थानमा छ।

लिग २ मा सहभागी आठ टोलीहरूले सन् २०२४-२०२६ मा ९ वटा त्रिकोणात्मक शृङ्खला मार्फत कुल ३६ खेल खेल्नेछन्।

लिग २ को समाप्तिमा शीर्ष चार स्थानमा रहने टोलीहरू सन् २०२७ को आईसीसी क्रिकेट विश्वकप छनोटका लागि सीधै छनोट हुनेछन्।

 

प्रकाशित: २४ चैत २०८२ १९:१५ | Tuesday, April 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast