किताबखानाका सबै कर्मचारीको व्यक्तिगत विवरण अद्यावधिक गर्ने अभियान सुरु

हिमाल प्रेस २४ चैत २०८२ ८:२५ | Tuesday, April 7, 2026
6
SHARES
किताबखानाका सबै कर्मचारीको व्यक्तिगत विवरण अद्यावधिक गर्ने अभियान सुरु

काठमाडौँ- राष्ट्रिय किताबखाना (निजामती) ले सबै कर्मचारीको व्यक्तिगत विवरण अद्यावधिक गर्ने अभियान सुरु गरेको छ। आइतबारदेखि नै सबै प्रदेशको मुख्यमन्त्री कार्यालयमा अस्थायी केन्द्र खडा गरी व्यक्तिगत विवरण (पीआईएस) अद्यावधिक गर्न अभियान सञ्चालन गरेको हो। किताबखानाका २१ जना कर्मचारीलाई सातै प्रदेशमा पीआईएस अद्यावधिक गर्ने कार्य सुरु गरेको राष्ट्रिय किताबखाना (निजामती)ले जनाएको छ ।

सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमा कर्मचारीको अद्यावधिक डिजिटल प्रोफाइल तयार गरी नियुक्ति, पदस्थापन, सरुवा, बढुवा, तालिम तथा अवकाशसम्मको व्यवस्था अनुमानयोग्य र स्वचालित बनाउन कर्मचारी व्यवस्थापन सूचना प्रणालीको ‘आर्किटेक्चर’ तयार गर्ने उल्लेख गरिएको छ।

उक्त कार्यसूची कार्यान्वयन गर्न आवश्यक मुख्य आधारभूत तथ्यांक संकलन तथा अद्यावधिक गर्ने कार्यलाई किताबखानाले उच्च प्राथमिकतामा राखी विशेष अभियान सञ्चालन गरेको हो । किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलले प्रत्येक कर्मचारीको अद्यावधिक विद्युतीय विवरण तयार गर्ने विशेष शिविरमार्फत अद्यावधिक नभएको आफ्नो विवरण अद्यावधिक गर्न सम्पूर्ण कर्मचारीलाई आग्रह गरे।

सबै मन्त्रालय, विभाग तथा केन्द्रीय निकायलाई आफूमातहतको कर्मचारीको पीआईएस अद्यावधिक गर्न सक्ने सुविधाका लागि प्रणालीको पहुँच उपलब्ध गराएको छ । उक्त पहुँचको उपयोग गर्दै मन्त्रालयहरूले मातहतका कर्मचारीको पिआइएस आफैँ अद्यावधिक गर्न सक्ने छन्। यसका लागि किताबखानाले एउटा प्रदेशबाट पाँच जना गरी सात वटै प्रदेशका किताबखानामा कार्यरत ३५ जना कर्मचारीलाई अभिमुखीकरण प्रदान गरिसकेको छ ।

कर्मचारी समायोजनका क्रममा संघमा ४० हजार २१२, प्रदेशमा १३ हजार ९११ र स्थानीय तहमा ३१ हजार ७५३ जना कर्मचारी समायोजन भए पनि त्यसपछि भने कुन तहमा कति कर्मचारी छन् भन्ने यकिन तथ्यांक आउन सकेको छैन ।

प्रकाशित: २४ चैत २०८२ ८:२५ | Tuesday, April 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast