भुपी ऐर : विद्रोहको बिम्ब

किरण पौडेल २८ चैत २०८२ १३:३९ | Saturday, April 11, 2026
18
SHARES
भुपी ऐर : विद्रोहको बिम्ब

‘राजनीति गलत हो भन्ने नजरिया बदल्नु छ।
राजनीति नशा हो भन्दै हिँड्ने गँजडिया बदल्नु छ।
बेलैमा नसोची नभन्नुहोस् कसैले बर्बाद भएपछि।
ए भाइ! मैले मेरो घुरिया बाल्नु छ।’

यो कवितांश राम्ररी बुझिँदैन। किनकि यसका सबै शब्द नेपालीमा छैनन्। कविताको आशय भने स्पष्ट छ- राजनीति बदल्नुपर्छ र राजनीतिलाई बर्बाद हुनबाट बचाउनुपर्छ। यी शब्दका रचयिता हुन्, भूपेश्वरी ऐर (भुपी ऐर)। भुपी पद्मकन्या क्याम्पस (पीके), बागबजारकी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति हुन्।

भुपी कहिले गीत गाउँछिन् त कहिले कविता कोर्छिन्। सँगसँगै उनको राजनीति अघि बढेको छ। गीत गुनगुनाउनु र कविता कोर्नु भुपीको आदत बनेको छ। उनी गीत र कविताबाट राजनीतिक बिम्ब चिर्न खोज्छिन्। समाजमा विद्रोह ल्याउन उनी साहित्य र संगीतको सहायता खोजिरहेकी छन्। हो उनी राजनीतिज्ञ हुन्। तर किन राजनीतिमा छन् प्रस्ट छैन। देश बदल्नु पर्छ भन्ने भावुक जबाफ छ, उनीसँग। तर कसरी? जसको जबाफ स्वयं भूपिसँग पनि छैन। संघर्षका पहिला चाल्दाचाल्दै प्रगतिको बाटोमा पुगेकी एक पात्र हुन्, उनी। अब समयले कता पुर्‍याउँछ उनलाई थाहा छैन। तर निरन्तर खबरदारी गर्ने उनको धोको छ। थाहा छैन, समयले संघर्षलाई चिनेर सम्मान दिन्छ वा दिँदैन।

नेपाली नजान्दा ‘बिल्ला’, कुर्ता-सुरुवाल देख्दा घृणा

भुपीको बाल्यकाल बैतडीको पहाडमै बित्यो। गाउँका बाध्यता र ‘बडेमान’ का घाँसका भारी बोक्दैमा बालपन सकिएको पत्तै भएन उनलाई। भुपी खुसी थिइनन्, किनभने उनलाई वास्तविक सुख थाहै थिएन।

जिल्लाकै सिद्धनाथ माविबाट कक्षा १२ को अध्ययन सकेपछि उनलाई जीवनको मोड फेर्नुपर्छ भन्ने लाग्यो। अनि काठमाडौँ आउने निधो गरिन्। दाइको साथमा उनको पाइला राजधानीतिर अघि बढे।

स्नातक पढ्न आएकी भुपीका संघर्षका दिन त्यतिबेलै आरम्भ भएको थियो। दाजुले आफैँले पढ्दै गरेको पब्लिक युथ क्याम्पसमा भर्ना गर्न सुझाव दिए। उनी सोही क्याम्पस पुगिन्। तर उनले सोचेभन्दा विपरीत थियो, पब्लिक युथ क्याम्पस। क्याम्पस पुग्दा उनी कुर्ता-सुरुवालको पहिरनमा थिइन्। त्यहाँको पोसाक पाइन्ट-सर्ट थियो। अधिकांश विद्यार्थी अङ्ग्रेजीमा कुरा गर्थे तर भुपी नेपाली पनि राम्ररी बोल्न जान्दिनथिन्। न भाषा आउँछ, न भेष मिल्छ। अब भुपीलाई गाह्रो पर्यो। सात दिन गएपछि उनी पब्लिक युथ गइनन्।

बैतडीमा भुपीलाई कुर्ता-सुरुवाल ‘राष्ट्रिय पोसाक’ लाग्थ्यो। सानैदेखि पहिरिएकाले हिँड्न, बस्न मात्र होइन, भलिबल खेल्न पनि कुर्ता-सुरुवालमा सहज हुन्थ्यो उनलाई। भुपीको त्यो पहिरन र पहिचान काठमाडौँलाई पचेन। उनलाई लाग्यो, पहिरन देखेर उनको कमजोर आर्थिक स्थितिको धज्जी उडाउनेहरूको भिड थियो क्याम्पसमा। उनको बोली सुनेर विद्यार्थी हाँस्थे। ठाउँले भाषा र पहिरनलाई गलत बनाउँदो रहेछ भन्ने भुपीले पहिलो पटक बुझिन्। ‘काठमाडौँ यस्तो होला भन्ने लागेको थिएन। हाम्रा लागि कर्णालीभन्दा यताको परिवेश ज्यादै भिन्न रहेछ,’ उनी सम्झिन्छिन्।

पब्लिक त्यागेर पीके, भूपेश्वरी छाडेर भुपी

सात दिनको पब्लिक क्याम्पसको अनुभवले भुपीलाई असहज भयो। उनी कमजोर बनिन्। उनले दाइलाई भनिन्, ‘म अब पब्लिक क्याम्पस जान्नँ।’ दाइले पब्लिक क्याम्पसमै पढ्न सुझाव दिए। उनले मानिनन्। उनले त्यतिबेलासम्म पद्मकन्या क्याम्पसको नामै सुनेकी थिइनन्। साथीहरूबाट उक्त क्याम्पसको नाम थाहा पाएपछि उनलाई ‘छोरी मान्छेले मात्र पढ्ने क्याम्पस हुन्छ र?’ भन्ने लाग्यो।

अनि उनको पाइला पब्लिक क्याम्पसबाट मोडिएर पद्मकन्यातिर अघि बढ्यो। उनी निरन्तर अध्ययनमा लाग्न चाहन्थिन्। सपना पूरा गर्नु थियो। तर सोचेजस्तो भएन। पद्मकन्याका बेथितिका चाङका अगाडि भुपी उकुसमुकुस हुन थालिन्।

पढाइसँगै उनको साहित्यिक प्रतिभासमेत प्रस्फुटित हुन थाल्यो। उनको कविता प्रेम देखेर साथीहरूले भूपेश्वरीबाट भुपी बनाए। ‘कविता लेख्ने भएकाले मलाई भुपी शेरचनको नाम दिइयो। मैले पनि भुपी नामलाई प्यारो ठानेँ,’ आफ्नो नाम परिवर्तनको सन्दर्भबारे भुपीले भनिन्।

भुपीको बालापन।

बेथिति बढार्न राजनीतिमा

भुपीको परिवार गाउँमा हुनेखाने गनिन्थ्यो। हजुरबुबा मुद्दामामिला मिलाइदिने गर्थे। त्यही कारण व्यङ्ग्य गरेर हजुरबुबालाई ‘वकिल’ भनिन्थ्यो गाउँमा। बुबा पनि पढलेख गरेका थिए। बुबाले घरमै किताब ल्याइदिन्थे। स्कुलमा पढ्ने बेलामा भुपीले सुम्निमा, दोषी चश्मा जस्ता विश्वेश्वरप्रसाद कोइरालाका साहित्यिक कृति पढिसकेकी थिइन्। पुस्तकप्रति उनको माया बढ्दै गयो।

भुपीका बुबा कांग्रेससँग नजिक थिए। भुपीले कांग्रेस नभएर बीपी बुझिन्। ‘बुबाले राजनीति गर्न बीपीको पुस्तक ल्याउनुभयो। मैले साहित्य बुझ्न ती पुस्तक पढेँ’, भुपी भन्छिन्। बिस्तारै उनको झुकाव बीपीका विचारतर्फ बढ्यो।

भुपीलाई पीकेमा घुलमिल हुन केही समय लाग्यो। बिस्तारै भाषा बुझ्न थालिन्। अग्रज दिदीहरूको बाटो उनले पछ्याइन्। ‘केही दिदीहरू मलाई केही गर्नुपर्छ भन्नुहुन्थ्यो। त्यही कारण म उहाँहरूको पछि लागेँ,’ भुपी भन्छिन्।

तिनै दिदीहरूको भाषण सुन्थिन् र लेख्थिन्। प्रायः ती भाषण उनी बुझ्दिनथिन्। दिदीहरूका भाषणमा ‘क्रान्तिकारी’, ‘नवउदारवाद’, ‘वर्गसंघर्ष’, ‘वामध्रुवीकरण’ जस्ता शब्द हुन्थे। उनलाई ती शब्द मन परेनन्। किनभने उनलाई बीपी कोइरालाको समाजवादी छाप परिसकेको थियो। अनि उनले दिदीहरू र आफूबीच ‘वैचारिक मतभेद’ छ भन्ने पत्तो पाइन्।

‘उहाँहरू अखिल क्रान्तिकारी समर्थक हुनुहुँदो रहेछ। मैले त्यही कारण बुझिनँ छु,’ भुपी भन्छिन्। त्यसो त, पीके नेविसंघको वर्चस्व रहँदै आएको क्याम्पस हो। भुपी पनि नेविसंघतिरै सोझिइन्।

दिदीहरूबाट सिक्दै जाँदा उनी भाषण सुन्न मात्र होइन, भाषण गर्न पनि थालिन्। बिस्तारै उनका साहित्यिक रचनाले सहकर्मी/साथी बढायो। क्याम्पसको बेथिति बुझ्न सकिनन्। ‘क्याम्पस प्रशासन दिदीहरूले भनेको मान्थ्यो। तर विद्यार्थीले भनेको मान्दैनथ्यो। म अचम्ममा पर्थें,’ भुपी भन्छिन्, ‘खासमा क्याम्पस प्रशासनले हामीले भनेको मान्नुपर्थ्यो नि।’ भुपी प्रशासनलाई आफ्नो बाध्यता सुनाउन चाहन्थिन्। प्रशासनले ‘जालसाजी’ कुरा गरेर पन्छ्याउँथ्यो। उनले क्याम्पसको राजनीति बिस्तारै बुझ्न थालिनन्।

भुपी अघि बढ्न चाहन्थिन्। त्यसैले उनले क्याम्पस सुधार्न राजनीतिमा हामफाल्ने अठोट गरिन्। संगठनका नाममा उनलाई अघि बढ्न नदिने धेरै थिए। संगठनभित्रको षड्यन्त्रले उनी हतोत्साहित भइनन्। भुपी प्रश्न गर्थिन्। उनको प्रश्नमाथि ‘तानाशाही व्यवहार’ देखाइन्थ्यो। ‘हाम्रो प्रश्न गर्ने अधिकार थियो। तर प्रश्नलाई त्यहाँ खुकुरीको धार सम्झिन्थ्यो,’भुपी थप्छिन्। उनी नेता भइसकेकी थिइन्, शुभेच्छुक धेरै भइसकेका थिए। क्याम्पसभित्र पढ्ने वातावरण बन्नुपर्छ भन्दा उनका साथीहरू सहयोग गर्थे, अनि ‘दिदी’हरू अवरोध।

क्याम्पसमा जब स्ववियु छिर्‍यो…

पीके क्याम्पस जहाँ दिदीबहिनीहरू मात्रै पढ्छन्। भुपीलाई लाग्यो, राजनीतिक गतिविधिचाहिँ ‘दाजु’हरू मात्रै गर्दा रहेछन्। स्ववियु निर्वाचनका बेला पीकेको राजनीतिक चासो क्याम्पसबाहिरको परिधिमा पुग्थ्यो, पत्तै हुन्थेन। भुपीले त्यही कुरा सुनिन्।

२०७९ सालमा भुपी स्नातक दोस्रो वर्ष पढ्दै थिइन्। उनलाई पनि स्ववियु चुनावमा लड्ने भोक जाग्यो। स्ववियु निर्देशिका पल्टाइन्। ‘२८ वर्ष उमेरसम्मकाले भाग लिन पाउने’ लेखिएको थियो। अनि निर्देशिकामा लेखिएको थियो, ‘स्वतन्त्र समूहले पनि सहभागी हुन पाउने।’ यसले भुपीलाई राहत मिल्यो। पहिलो कुरा भुपी २१ वर्षकी थिइन्। उनी राजनीतिक आबद्धताबिना स्ववियु सभापति बन्न चाहन्थिन्।

त्यतिबेला तिनै ‘पुराना दिदीहरू’ ले अवरोध गरे। उनीहरूले भुपीलाई स्ववियु सदस्य बन्न प्रस्ताव गरे। उनी भने सभापति बन्न चाहन्थिन्। दिदीहरू गुटका कुरा गर्थे। आआफ्ना ‘प्यानल’ बनाउँथे। जुन दिदीहरूले भुपीलाई राजनीति सिकाए, अब उनीहरू नै बाधक बन्न थाले उनको यात्रामा। भुपी सबैको आँखी भइन्।

भुपीका साथीहरू ‘रक्षक’ बनिदिन्थे। भुपीका लागि लड्न उनीहरू अघि बढ्थे। दिदीहरूले साथ दिएनन् के भो त? साथीहरू भुपीसँग थिए। स्ववियु निर्वाचन आयो। उनलाई अघि नबढ्न दबाब आउन थाल्यो। भुपीलाई संगठानात्मक रूपमा अघि बढ्न मन लाग्यो। एक पाइला पछि हटेर सचिव लड्न उनी राजी भइन्। अध्यक्ष छोडेर स्ववियु सचिव बनिन् भुपी।

भुपीका तगारा

स्ववियु सचिव बनेपछि उनी क्याम्पसका बेथिति लाग्न थालिन्। फेरि बाधा आइलागे। ‘राम्रो काम गर्न खोज्दा ज्यादै समस्या हुँदो रहेछ। मलाई कमजोर बनाउन लागियो। अनेक समस्या आए’, उनी सम्झिन्छिन्।

निर्वाचित हुँदाको मतको साहस र साथीहरूको हिम्मतले भुपी अघि बढिरहिन्। उनी स्नातक चौथो वर्षमा पुग्नै लाग्दा फेरि स्ववियु निर्वाचन आयो। भुपी फेरि स्ववियु सभापति बन्ने तयारीमा जुटिन्। पहिले अनदेखा गर्नेहरूले उनलाई बुझेका थिए। भुपीलाई जसरी पनि स्ववियु अध्यक्ष बन्नु थियो। जब क्याम्पसमा संगठन दर्ता गर्नुपर्ने भयो, पहिलो चरणमै भुपीहरूले दर्ता गरे।

अब फेरि ‘दिदीहरू’ सल्बलाए। उनीहरू प्यानल बनाउँथे त कहिले नामावली माग्थे। भुपीलाई नलडिदिन आग्रह गर्थे। सोही कारण उम्मेदवारी दिने दिन अप्ठ्यारो भयो। उनी नेविसंघबाटै चुनाव लड्न चाहन्थिन्। त्यही कारण नेविसंघ केन्द्रीय कार्यालयसम्म धाइन्। ‘दाजुहरू’ ले भुपीका लागि प्रयास गरे पनि पीके क्याम्पस भागमा नपरेको बताए। नेविसंघले समूह-समूहलाई स्ववियु सभापतिको टिकट बाँडेको थियो। भुपी त्यसरी वितरित सूचीमा परिनन्।

नेविसंघ कार्यालयमा पुगेर उनले भनिन्, ‘म मनोनयनको दिन १०:५८ सम्म पर्खिन्छु। आधिकारिकता आएन भने म आफ्नै तरिकाले अघि बढ्छु।’ उम्मेदवारी मनोनयनको दिनको परिवेश बदलियो। हुलहुज्जत र गर्मागर्मीले उम्मेदवारी दर्ता मिति दुई दिन पछि सार्‍यो। तर नेविसंघको आधिकारिकता आएन।

भुपीलाई ‘दिदी’हरूले सिकाएको विकल्पको याद आयो। ‘हेर भुपी, हरेक काम गर्दा विकल्पसहित गर्नुपर्छ’, दिदीहरूले भन्ने गरेका थिए। उनीविरुद्ध दिदीहरू अडिएका थिए, तिनै दिदीहरूले सिकाएको शैली लिएर भुपी अघि बढिन्। उनले आफ्नो नामसहित केही साथीहरूलाई स्वतन्त्रबाट उम्मेदवारी दिन लगाइन्।

‘मलाई एकदमै विश्वास गर्ने साथीहरूलाई सोधेँ। तिमीहरू चुनाव लड्दैनौँ भने स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गरौँ,’ भुपीले आग्रह गरिन्, ‘मलाई नेविसंघले आधिकारिकता दियो भने नेविसंघबाटै लड्छु। दिएन भने पनि स्वतन्त्रबाट तिमीहरू पछि हट, म लड्छु।’ साथीहरूले नाइँ भनेनन्।

उम्मेदवारी दर्ताका दिन भुपीलाई कतिले आश्वासन दिए, कतिले ज्यान लिने धम्की दिए। ‘अनेक ठाउँबाट फोन आयो। मैले सबै खुलाउन मिल्दैन। तर म एकदमै त्रसित थिएँ,’ भुपीले भनिन्। नेविसंघले आधिकारिकता दिएन। उनका अनुसार पीकेमा नेविसंघका दुई उम्मेदवार भएको ‘मिडिया ट्रायल’ गरियो। भुपीलाई केही भनिएन। ‘त्यतिबेला चाहिँ गगन-विश्व दाजुले सहयोग गर्नुभयो। नेविसंघ मौन थियो,’ उनी भन्छिन्।

दाबी-विरोधको समयमा नेविसंघ उनीप्रति लचक भएर आधिकारिकताको सूचना पठाए पनि धेरै ढिलो भएको थियो। ‘मैले स्वतन्त्र समूह भनेर घोषणा गर्दै मत मागेकी थिएँ। अब नेविसंघबाट लड्ने भन्न सकिनँ,’ भुपी भन्छिन्, ‘मलाई क्याम्पस र प्रहरी प्रशासनले चाहिँ सहयोग गरे।’ भुपीले चुनाव जितिन्। सचिव हुँदा ‘म्यान अफ द इलेक्सन’ भएकी उनको अध्यक्ष हुँदा पनि कम थिएन मत। भुपीले ६३० मत ल्याउँदा नेविसंघकी पूर्णिमा परियारले ३७१ मत प्राप्त गरिन्। उनको प्यानल पीकेमा खडा भयो।

‘मलाई संगठनले साथ दिएन। तर साथीले साथ छोडेनन्,’ उनी सम्झिन्छिन्। भुपीलाई चुनाव हराउन क्याम्पसमा अनेक हथकण्डा भए! ढोकाढोकामा ताला लगाइयो। कुकुर बम राखियो। ढुङ्गा हानियो। मार्ने धम्की आयो। भुपी रत्तिभर डराइनन्। किनभने उनका अघिपछि साथी थिए। यही हिम्मत जुटाएर उनी मैदान उत्रिएकी थिइन्। ‘७ दिन त पद्मकन्या छोडेर म गेटबाहिर पनि गइनँ,’ भुपी भन्छिन्।

भावनाले जोडिएका यी मतहरू!
कर्मले जुटेका यी मद्दतहरू!
आफ्नो मत आफैँलाई दिँदा,
हामी छौँ पछाडि भनी दिएका हिम्मतहरू!

निर्वाचित भएपछि साथीसँग भुपी पोखिइन्। उनले त्यही भिडमा मुक्तक वाचन गरेकी थिइन्। ‘मैले चिनेकी पनि थिइनँ कतिपय त। तर मेरा लागि सबैले यति धेरै गरिदिनुहुने रहेछ! म कस्तो मर्माहत भएँ,’ भुपी भन्छिन्।

पद्मकन्यामा भुपीले मात्र जितिनन्, लामो समयदेखिको संगठनको धाक भत्कियो। संगठन सबैथोक भनेर हिँड्नेहरूका ‘दम्भ’हरू भाँचिए। यति मात्र होइन, सधैँ मानविकीबाट मात्र चुनाव जित्थे, तर भुपी व्यवस्थापन सङ्कायबाट लडिन् र जितिन्।

भुपीबाट अब ‘भुपी दिदी’

अहिले भुपी स्नातकोत्तर प्रथम वर्षमा अध्ययन गर्दै छिन्। उनी अब विद्रोहकी बिम्ब बनेकी छन्। अब उनी ‘भुपी दिदी’ भनेर चिनिन्छिन्। ‘भुपी दिदी हाम्रो अभिभावक हो अब। हामी उहाँकै अभियन्ता हौँ,’ पद्मकन्यामै अध्ययन गर्दै गरेकी अस्मिता चापागाईँ भन्छिन्, ‘दिदीका दुःख धेरै थाहा थियो। आज धेरै जानियो। अब झनै अघि बढ्ने प्रेरणा मिल्यो।’

हो, अहिले भुपी आदर्श बनेकी छन्। उनी पीके क्याम्पसकै छात्राबासमा बस्छिन्। उनको कोठा बहिनीहरूका लागि सिक्ने ‘पाठशाला’ बनेको छ। बहिनीहरू पुग्छन् र भुपीसँग राजनीतिक कुराकानी गर्छन्।

भुपी पहिले दिदीहरूले सिकाएझैँ सिकाइदिन्छिन्। तर दिदीहरू र भुपी दिदीमा एउटा भिन्नता छ। दिदीहरू ‘स्वार्थ’को राजनीति गर्थे। उनीहरू आफ्नो क्याम्पसभन्दा अगाडि आफ्नो शासन र आफू हो भन्थे। भुपी बहिनीहरूलाई पनि आफू जस्तै बनाउने प्रयत्नमा छिन्। अबको एक वर्षमा भुपीले पद्मकन्या छाड्दै छिन्। उनको मन भारी छ।

‘म कोरोनाकालमा सबैभन्दा पहिले घरबाट आएर पद्मकन्या छिरेकी थिएँ। यहाँ आएपछि मन शान्त हुन्छ,’ उनी भन्छिन्, ‘म अब छाड्दै छु। धेरै बहिनीहरूलाई सक्षम बनाउनुपर्नेछ।’

 

अन्योलमा राजनीतिक दिशा, वकिल बन्ने सपना

भुपीलाई गाउँ-सहर, पीके र बैतडीको तुलना गर्दा पीडा हुन्छ। गाउँको परिवेश साह्रै मन पर्छ। ‘एक वर्षभन्दा बढीमा मात्र घर जान सक्छु। एक पटकमा २० हजारभन्दा बढी खर्च हुन्छ,’ भुपी भन्छिन्।

काठमाडौँमा उनले भोगेका अनेक समस्यामध्येको एक हो, आर्थिक अभाव। एक ठाउँमा काम पनि गरिन्, तर भुपीको गतिशील मनसँग कामको तादाम्य मिलेन। उनले स्ववियु जितेपछि पीकेमा राजनीतिक हस्तक्षेप शून्य छ। पहिलेको प्रशासन अहिले विद्यार्थीमैत्री बनेको छ।

भुपीले पद्मकन्या बदलिन, अब उनी कहाँ पुग्छिन् थाहा छैन। तर उनको एउटा सपना छ, वकिल बन्ने। पहिले हजुरबुबालाई ‘वकिल’ भनेर व्यङ्ग्य गर्नेहरूलाई वकिल बनेर देखाउनु छ।

भुपीलाई तीन कुरामा बहुत विश्वास छ- साथीसंगी, परिवार र अध्यात्म। उनी गायत्री नजपी कतै हिँड्दिनन्। अनि मन्दिर देख्यो कि टाउको झुक्छ। ‘यही कारण म हजुरबुबाले म वकिल बनेको देख्नुहुन्छ भन्ने विश्वास गर्छु,’ उनी भन्छिन्। नेविसंघ अन्योलमा छ। उनलाई देशमै काम गर्ने विचार छ। तर बदलिँदो परिवेशबारे कसरी लड्ने हेक्का पाएकी छैनन्।

भलिबलमा भुलिने मन

भुपी वाल्यकाल काम र खेलकुदमा बित्यो। घरको काम सकेर खेल्न हिँड्नुपर्ने उनको रुटिङ बनेको थियो। उनी स्कुलमा भलिबल खेल्थिइन्। त्यसबेला सुदूरपश्चिममा महिलाले भलिबल खेल्न हुन्न भन्ने थियो। तर भुपी अपवाद बन्थिइन्। दाजुभाइका बीचमा उनी भलिबलमा रमाउँथिइन्। अहिले पनि उनको मन खेलकुदमा खुव चल्छ। भलिबलसँगै उनी एथलेटिक्समा पनि भरपुर रूपमा आफूलाई भेटेकी छन्।

केही समयअघि एथलेटिक्स खेलाडीको प्रतिनिधित्व गर्दै उनी विदेश गएकी थिइन्। चाहे जेसुकै खेल होस्, तर उनको मन भलिबलमा भुलिन्छ। भलिबलको विकास नभएकोमा उनको मन मान्दैन। त्यसो त राष्ट्रले खेललाई महत्त्व नदिएकोमा उनलाई रिस नै उठ्छ। ‘भलिबल राष्ट्रिय खेल त हो। तर कहाँ/कसरी विकास भयो थाहा छैन।’भुपी भन्छिन्। उनलाई खेलकुदमा समेत उल्लेखीय प्रगति हुनुपर्छ भन्ने लाग्छ।

नेविसंघको माया छ…

आजसम्म उनले दल-संगठनको झन्डा बोकेर सडक तताइनन्। आक्कलझुक्कल संगठनमा लागे पनि स्थायी भएन। तर उनलाई नेविसंघप्रति माया छ।

‘म नेविसंघलाई माया गर्छु। स्वतन्त्रबाट लड्नुभएका दिदीहरू पनि नेविसंघमै फर्किनुभयो। म पनि नेविसंघलाई माया गर्छु,’ उनी भन्छिन्। तर परिवेश भिन्न छ।

नेविसंघभित्र पनि विवाद छ। अध्यक्ष दुजाङ शेर्पाले कांग्रेसबाट नेविसंघ भिन्न गराउने योजना बनाएका छन्। अहिले कांग्रेसविरुद्ध नेविसंघ खडा छ। ‘सही नियतले गरेको भए मलाई ठिक लागेको छ। तर गलत स्वार्थ हुनुभएन,’ उनी भन्छिन्। भुपीलाई पनि विद्यार्थी संगठन पार्टीको भ्रातृ संगठन भएकोमा चित्त बुझ्दैन। भ्रातृ संगठनको खोल ओढेका विद्यार्थी संगठनले नै क्याम्पस बिगारेको उनको तर्क छ। ‘विद्यार्थी संगठन स्वायत्त हुनुपर्छ। उनीहरूले विचारको राजनीति गर्नुपर्छ। स्वार्थको राजनीति गर्न मिल्दैन,’ उनी भन्छिन्, ‘विद्यार्थी राजनीतिका नाममा कमाउधन्दा गर्नुभएन।’

बालेनको शिक्षा नीतिमा समर्थन, कार्यशैली/कार्ययोजनामा प्रश्न

बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले हालै मात्र ‘विश्वविद्यालय हाताबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउने’ र ‘स्ववियु काउन्सिल’/‘विद्यार्थी काउन्सिल गठन गर्ने’ कार्यसूची सार्वजनिक गरेको छ। यसमा भुपीमा केही विमति छन्। उनी क्याम्पसभित्र विचारको राजनीति गर्न पाउनुपर्ने बताउँछिन्।

‘सरकारले विचारलाई निस्तेज पार्नु हुन्न। स्ववियुका लागि चुनाव हुनैपर्छ,’ उनी भन्छिन्, ‘अहिले पूर्वाञ्चल विश्वविद्यालयतिर हात उठाएर सभापति छान्ने चलन छ। त्यो चाहिँ होइन।’ उनी जसरी पनि चुनाव भएर नेता चयन हुनुपर्छ भन्ने अडान राख्छिन्। उनी विगत सम्झिँदै भन्छिन्, ‘चुनाव नै हो नेताका लागि हारजितको मुख्य परीक्षा। विचार र चुनावबिनाको स्ववियुको अर्थ रहँदैन।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast