विदेशी राजदूतहरूसँग बालेनले भने- नीतिगत दिशालाई स्थिर राख्न दृढ प्रतिबद्ध छौँ

हिमाल प्रेस २५ चैत २०८२ २१:३० | Wednesday, April 8, 2026
14
SHARES
विदेशी राजदूतहरूसँग बालेनले भने- नीतिगत दिशालाई स्थिर राख्न दृढ प्रतिबद्ध छौँ

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नेपालस्थित विदेशी कूटनीतिक नियोगका राजदूत तथा प्रमुखहरूसँगको सामूहिक भेटमा नयाँ सरकार गठन भए पनि पुरानो नीतिगत निरन्तरता कायम राख्ने स्पष्ट सन्देश दिएका छन्।

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित शिष्टाचार भेटका अवसरमा प्रधानमन्त्री शाहले नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु नभएको बताएका हुन्। ‘हामी राजनीतिक स्थायित्व कायम राख्न तथा नीतिगत दिशालाई स्थिर र पूर्वानुमानयोग्य बनाइराख्न दृढ प्रतिबद्ध छौँ,’ प्रधानमन्त्री शाहले भने।

नेपाल सरकार सबै मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई उच्च महत्त्व दिने र विश्वास तथा पारस्परिक लाभमा आधारित साझेदारी सुदृढ गर्न प्रतिबद्ध रहेको पनि उनले बताए।  उनले नेपालले सन्तुलित र व्यावहारिक वैदेशिक नीति अनुसरण गर्दै आएको उल्लेख गर्दै भने, ‘हाम्रो बाह्य सम्बन्ध साझा समृद्धिको लक्ष्यद्वारा निर्देशित छ।’

विश्वमा चलिरहेका द्वन्द्वहरूले सर्वसाधारण नागरिकलाई सबैभन्दा बढी असर पारिरहेको भन्दै प्रधानमन्त्री शाहले शान्तिलाई साझा प्राथमिकता बनाउनुपर्नेमा जोड दिए। ‘चलिरहेका द्वन्द्वहरूले सर्वसाधारणलाई बढी पीडा दिइरहेका छन्, त्यसैले शान्ति हाम्रो साझा प्राथमिकता रहनुपर्छ,’ उनले भने।

प्रधानमन्त्री शाहले विकास, व्यापार, लगानी, जलवायु कार्य र जनस्तरको सम्बन्धजस्ता क्षेत्रमा सहकार्य अघि बढाउन सरकार तयार रहेको बताए। उनले लगानीका लागि अनुकूल वातावरण निर्माण गर्ने, उद्यमशीलतालाई प्रोत्साहन गर्ने र दिगो विकासलाई समर्थन गर्ने प्रतिबद्धता दोहोर्‍याए।

साथै राष्ट्रिय हितअनुकूल हुने गरी नेपाललाई क्षेत्रीय तथा वैश्विक आर्थिक संरचनामा अझ मजबुत रूपमा समेट्ने लक्ष्य रहेको उल्लेख गरे। नेपालको शान्ति सन्देश र यहाँको हिमाल, बुद्धलाई ब्रान्डिङको सन्देश पनि दिए।

विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा र हितलाई सरकारले उच्च प्राथमिकता दिएको पनि प्रधानमन्त्री शाहले राजदूतहरूलाई जानकारी दिएको एक सहभागीले बताए।उनले नेपालको विकास र समृद्धिका लागि निरन्तर सहयोग पुर्‍याउँदै आएका सबै साझेदार तथा मित्र राष्ट्रहरूप्रति आभार व्यक्त गरे।

भेटमा भारत, चीन, अमेरिका, बेलायत, जापान, फ्रान्स, दक्षिण कोरिया, रुस, कतारलगायत विभिन्न देशका राजदूत तथा राष्ट्रसंघका प्रतिनिधिहरू सहभागी थिए।

राजदूतहरूले प्रधानमन्त्री शाहलाई बधाई दिँदै नेपालसँगको सम्बन्ध थप सुदृढ बनाउन आफ्नो तर्फबाट पूर्ण सहयोग रहने बताएका थिए। यो सामूहिक भेटलाई कूटनीतिक क्षेत्रमा परम्परागत शैलीभन्दा फरक र व्यावहारिक प्रयासको रूपमा हेरिएको छ।

प्रकाशित: २५ चैत २०८२ २१:३० | Wednesday, April 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast