अर्याल बने दसौँ सभामुख, को कहिले?

हिमाल प्रेस २२ चैत २०८२ १४:४३ | Sunday, April 5, 2026
44
SHARES
अर्याल बने दसौँ सभामुख, को कहिले?

काठमाडौँ- २०१५ देखि २०८२ सम्म प्रतिनिधिसभाले १० जना सभामुख पाएको छ। तीमध्ये पाँचजना कम्युनिस्ट पृष्ठभूमिबाट सभामुख निर्वाचित भएका छन्। चारजना नेपाली कांग्रेसबाट सभामुख भएका छन्। एकजना अर्थात् दसौँ सभामुख डोलप्रसाद अर्याल भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका हुन्।

कम्युनिस्ट पृष्ठभूमिबाट सभामुख भएकामा सुवासचन्द्र नेम्बाङ, ओनसरी घर्ती, कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा र देवराज घिमिरे छन्। नेम्बाङ र घिमिरे एमालेका हुन् भने घर्ती, महरा र सापकोटा माओवादीका हुन्। अहिले माओवादी पार्टी नेकपामा विलय भइसकेको छ।

घर्ती नेपालकी पहिलो महिला सभामुख हुन्। नेम्बाङ भने संविधानसभा अध्यक्षसमेत बन्न पाएका थिए। नेम्बाङको निधन भइसकेको छ।

कांग्रेसबाट सभामुख निर्वाचित हुनेमा कृष्णप्रसाद भट्टराई, दमननाथ ढुंगाना, रामचन्द्र पौडेल, तारानाथ रानाभाट छन्। भट्टराई प्रधानमन्त्री बन्न सफल भएका थिए भने पौडेल राष्ट्रपति छन्। गणतन्त्र स्थापनापछि कांग्रेसबाट एकजना पनि सभामुख भएका छैनन्।

कृष्णप्रसाद भट्टराई नेपालको पहिलो सभामुख हुन्। २०१५ मा भएको पहिलो प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले १०९ निर्वाचन क्षेत्रमध्ये ७४ सिट अर्थात् दुईतिहाइ बहुमत ल्याएको थियो। २०१६ मा उनी प्रतिनिधिसभाको पहिलो सभामुखमा निर्वाचित भएका थिए। पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईको निधन भइसकेको छ।

दमननाथ ढुंगाना नेपालका दोस्रो सभामुख एवं २०४६ मा प्रजातन्त्र पुनर्स्थापनापछिका पहिलो सभामुख हुन्। २०४८ मा काठमाडौँ–२ बाट चुनाव जितेका उनी २०४८ देखि २०५१ सम्म प्रतिनिधिसभाको सभामुख थिए। नेपाल बारका पूर्वअध्यक्षसमेत रहेका उनको पनि निधन भइसकेको छ।

रामचन्द्र पौडेल प्रतिनिधिसभाका तेस्रो सभामुख हुन्। उनी २०५१ देखि २०५६ सम्म सभामुख भएका थिए। २०४८ देखि पटकपटक मन्त्री र उपप्रधानमन्त्री भएका पौडेल २०७९ मा राष्ट्रपति निर्वाचित भएका हुन्।

तारानाथ रानाभाट सभामुख बन्ने अर्का कांग्रेसका चौथा नेता हुन्। उनी २०५६ देखि २०५९ सम्म सभामुख भए। रानाभाट सभामुख रहेकै बेला २०५८ जेठ १९ गते राजदरबारभित्र हत्याकाण्ड भएको थियो। हत्याकाण्डमा राजा वीरेन्द्रसहित १० जना राजपरिवारका सदस्यको निधन भएको थियो।

सुवासचन्द्र नेम्बाङ पाँचौँ सभामुख हुन्। उनी संविधानसभाका अध्यक्षसमेत भएका थिए। नेम्बाङ एकैपटक संविधानसभा अध्यक्ष र सभामुखको भूमिकामा थिए। साथै नेम्बाङ कम्युनिस्ट पृष्ठभूमिबाट सभामुख भएका पहिलो व्यक्ति हुन्। उनी २०६४ र २०७० को संविधानसभा अध्यक्षसमेत भएका थिए।

ओनसरी घर्ती नेपालको पहिलो महिला सभामुख हुन्। उनी २०७२ को संविधान जारी भएपछि रूपान्तरित संसद्‌मा माओवादी केन्द्रबाट सभामुख भएकी थिइन्। उनी छैटौँ सभामुख हुन्।

कृष्णबहादुर महरा सातौँ सभामुख हुन्। उनी २०७४ देखि २०७६ सम्म सभामुख भएका थिए। संसद् सचिवालयकी एक कर्मचारीलाई बलात्कार गरेको आरोप लागेपछि उनले २०७६ असोजमा राजीनामा दिएका थिए। उनलाई पछि अदालतले सफाइ दिएको थियो।

महराले राजीनामा दिएपछि २०७६ मा तत्कालीन माओवादी केन्द्रले अग्निप्रसाद सापकोटालाई सभामुख बनाएको थियो। उनी आठौँ सभामुख हुन्।

२०७९ को चुनावपछि देवराज घिमिरे एमालेबाट सभामुख बनेका थिए। उनी नेपालको नवौँ सभामुख हुन्।

रास्वपाका उपसभापति डोलप्रसाद अर्याल आइतबार प्रतिनिधिसभाको दसौँ सभामुख पदमा निर्विरोध निर्वाचित भएका हुन्। उनी श्रम रोजगार तथा सामाजिक विकासमन्त्री बनेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast