एआईको सहायतामा बनाइएको तस्बिर।
काठमाडौँ- हवाई इन्धनको मूल्यमा दोब्बरले वृद्धि भएसँगै आन्तरिकतर्फको हवाई भाडामा पनि महँगिएको छ।
इन्धनको मूल्य बढेको भन्दै वायुसेवा सञ्चालकहरूले इन्धन शुल्क (फ्युल सरचार्ज) मा भारी वृद्धि गरेपछि हवाई भाडा अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो।
नेपाल आयल निगमले बुधबारदेखि लागू हुने गरी आन्तरिक हवाई इन्धनको मूल्यमा प्रतिलिटर १२४ रुपैयाँले वृद्धि गरेको थियो। यो वृद्धिसँगै हवाई इन्धनको मूल्य १२७ बाट २५१ रुपैयाँ प्रतिलिटर पुगेको छ।
बुधबार बिहानैदेखि लागू हुने गरी वायुसेवा कम्पनीहरूले इन्धन शुल्कमा अधिकतम ५ हजार ४५३ रुपैयाँसम्म थप गरेका छन्।
काठमाडौँबाट सबैभन्दा लामो उडान हुने धनगढी रुटमा इन्धन शुल्क मात्रै ५ हजार ४३५ ले बढेको छ। सबैभन्दा छोटो दूरीको सिमरा उडानमा १ हजार ११० रुपैयाँ शुल्क बढाइएको छ।
पछिल्लो भाडा समायोजनसँगै काठमाडौँ-धनगढीको अधिकतम भाडा २३ हजार ५९ रूपैयाँ पुगेको छ। अचम्म त के भने काठमाडौँबाट नयाँ दिल्लीको एकतर्फी हवाई भाडा (शुक्रबारका लागि इन्डिगो एयरलाइन्स) २२ हजार ७७७ मात्र छ। यसले नेपालको आन्तरिक उडान छिमेकी देशको अन्तर्राष्ट्रिय उडानभन्दा पनि महँगो पर्न गएको देखाउँछ।
यसै गरी, काठमाडौँ-भद्रपुरका लागि अधिकतम भाडा १५ हजार ८३७ पुगेको छ भने काठमाडौँ-विराटनगरका लागि १२ हजार ७६५, काठमाडौँ-जनकपुरका लागि ७ हजार ७०, काठमाडौँ-भरतपुरका लागि ५ हजार ९७३, काठमाडौँ-पोखराका लागि ८ हजार ६०५, काठमाडौँ–भैरहवाका लागि ११ हजार १६, काठमाडौँ-नेपालगञ्जका लागि १७ हजार १४८, काठमाडौँ-तुम्लिङटारका लागि ९ हजार ९२०, काठमाडौँ-सिमराका लागि ५ हजार ९८ र काठमाडौँ-राजविराजका लागि १० हजार ७५० पुगेको छ।
त्यसै गरी न्यूनतम भाडा काठमाडौँ-भद्रपुरका लागि ९ हजार ९८९, काठमाडौँ-विराटनगरका लागि ८ हजार ८८, काठमाडौँ-जनकपुरका लागि ४ हजार ५६५, काठमाडौँ-भरतपुरका लागि ३ हजार ८८५, काठमाडौँ-पोखराका लागि ५ हजार ५१५, काठमाडौँ-भैरहवाका लागि ७ हजार ६, काठमाडौँ-नेपालगञ्जका लागि १० हजार ८००, काठमाडौँ–धनगढीका लागि १४ हजार ४५७, काठमाडौँ-तुम्लिङटारका लागि ६ हजार ३२७, काठमाडौँ-सिमराका लागि ३ हजार ३४४ र काठमाडौँ-राजविराजका लागि ८ हजार ५१२ पुगेको छ।




