हुम्ला- हिमाली जिल्ला हुम्लामा पाँच दिनदेखि अवरुद्ध हवाई सेवा सुचारु भएको छ। खराब मौसम तथा एयरलाइन्सका जहाज नेपालगन्जमा उपलब्ध नभएकाले हवाई सेवा अवरुद्ध भएको हो। अवरुद्ध हवाई सेवा शनिबारदेखि पुनः सुचारु भएको नेपाल नागरिक उड्डयन प्राधिकरण सिमकोटका प्रमुख महेन्द्रबहादुर सिंहले जानकारी दिए। गत मङ्गलबारदेखि लगातार वर्षा र हिमपात भइरहेकाले बिहीबारसम्म सेवा अवरुद्ध रहेको थियो। शुक्रबार भने निजी एयरलाइन्सका जहाज नेपालगन्ज विमानस्थलमा उपलब्ध नभएकाले सेवा पुनः प्रभावित भएको थियो।
शनिबार नेपालगन्जबाट १५ जना यात्रु सिमकोट आएका छन् भने सिमकोटबाट नेपालगन्जतर्फ १६ जना यात्रु प्रस्थान गरेका छन्। तारा एयरको जहाजले एक उडान भरेको हो। सो उडानमा बिरामी तथा विदेशी नागरिकसमेत रहेका छन्।
नियमित उडान भर्दै आएका निजी तथा नेपाल वायुसेवा निगमका जहाजहरूले रद्द भएका उडानका लागि डिले उडान नगरेको बताइएको छ। पर्यटकीय सिजनका कारण अधिकांश निजी एयरलाइन्सका जहाज काठमाडौँ फर्किएकोले पनि यात्रुहरू प्रभावित भएका छन्।




