काठमाडौँ- नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले संसदीय दलको नेता चयन प्रक्रियालाई लिएर पार्टीभित्रको आन्तरिक लोकतन्त्र कमजोर र संकुचित भएको भन्दै तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। युवा सांसद सुहाङ नेम्वाङले संसदीय दलको नेताका लागि प्रतिस्पर्धा गर्न खोज्दा प्रस्तावक र समर्थक समेत नपाएको घटनालाई उनले ‘लोकतान्त्रिक पार्टीका लागि लज्जास्पद’ विषय भनेका छन् ।
नेता पाण्डेले आफ्नो फेसबुक स्टाटसमार्फत नेतृत्वको कार्यशैली र पार्टीको वर्तमान अवस्थाप्रति गम्भीर प्रश्न उठाएका हुन् । उनले लेखेका छन्, ‘संसदीय दलको नेता चयन प्रक्रियाले एमालेभित्र आन्तरिक लोकतन्त्र कति कमजोर र संकुचित भइसकेको छ भन्ने स्पष्ट पारेको छ।’
एक सम्भावना बोकेको युवा सांसदले प्रतिस्पर्धा गर्न खोज्दा प्रस्तावक र समर्थक समेत नपाउनु लोकतान्त्रिक पार्टीका लागि लज्जास्पद विषय भएको पाण्डेको भनाइ छ । यस घटनाले पार्टीभित्रको लोकतान्त्रिक अभ्यासमाथि गम्भीर प्रश्न चिह्न खडा गरेको उनको तर्क छ ।
पाण्डेले नेतृत्वको आलोचना गर्दै भनेका छन्, ‘जब नेतृत्व म नै पार्टी र पार्टी नै म भन्ने भ्रममा बाँच्छ र निर्वाचनको गम्भीर पराजयलाई पनि सामान्य ठान्छ, त्यहाँ सुधारको ढोका बन्द हुन्छ। यस्तो दमनकारी प्रवृत्तिले संगठनलाई गतिशील होइन, अधोगतितर्फ मात्र धकेल्ने उनको विश्लेषण छ ।
९ सिटमा खुम्चिएको आजको अवस्थामा पनि पार्टी नेतृत्वले चेत नखुल्यो भने कहिले खुल्ने भन्दै उनले प्रश्न गरेका छन् । नेता पाण्डेले अब स्पष्ट रूपमा पुरानो ढर्रा र गुटगत घेराबन्दीले एमाले चल्न नसक्ने ठोकुवा गरेका छन् ।
पार्टीलाई कसैको ‘निजी क्लब’ नभई आम कार्यकर्ता र जनताको साझा संस्था बनाउन साहसिक परिवर्तन र नयाँ मार्गचित्र अनिवार्य रहेको पाण्डेले औंल्याएका छन् ।
एमालेमा संसदीय दलको भएको निर्वाचनमा रामबहादुर थापा ‘बादल’ विजयी भएका थिए ।




