एडीबीको प्रक्षेपण : आर्थिक वृद्धि २.७ प्रतिशतमा सीमित हुने

हिमाल प्रेस २७ चैत २०८२ १८:२७ | Friday, April 10, 2026
8
SHARES
एडीबीको प्रक्षेपण : आर्थिक वृद्धि २.७ प्रतिशतमा सीमित हुने

काठमाडौँ– एसियाली विकास बैंक (एडीबी) ले सन् २०२६ मा नेपालको आर्थिक वृद्धि दर दुई दशमलव सात प्रतिशतमा सीमित हुने प्रक्षेपण सार्वजनिक गरेको छ।

एडीबीद्वारा प्रकाशित ‘एसियन डेभलपमेन्ट आउटलुक अप्रिल २०२६’ अनुसार यो दर अघिल्लो आर्थिक वर्षमा चार दशमलव छ प्रतिशत रहेकामा यस वर्ष न्यून देखिएको हो।

एडीबीका नेपालका देशीय निर्देशक आर्नो कोस्वाका अनुसार राजनीतिक अनिश्चितता, गत भदौको जेनजी आन्दोलन तथा मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण आर्थिक वृद्धि सुस्त हुने देखिएको हो।

राजनीतिक स्थायित्व कायम भएमा सुधारका कार्यक्रम अगाडि बढ्न र आर्थिक विश्वास बढ्न सहयोग पुग्ने उल्लेख गर्दै कोस्वाले मध्यपूर्व द्वन्द्वका कारण तेलको मूल्य, पर्यटन तथा विप्रेषणमा पर्ने असरले जोखिम कायम रहेको बताए।

प्रतिवेदनमा आगामी आर्थिक वर्षमा आर्थिक वृद्धिदर पाँच प्रतिशत पुग्ने अनुमान गरिएको छ। हाल देखिएका अवरोध क्रमशः कम हुँदै जाँदा आन्तरिक मागमा सुधार, जलविद्युत् निर्यातमा वृद्धि तथा पर्यटन क्षेत्रको पुनरुत्थानले अर्थतन्त्रलाई टेवा पुग्ने अपेक्षा गरिएको छ।

एडीबीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा मूल्यवृद्धि दर तीन दशमलव सात प्रतिशत रहने र २०८३/८४ मा बढेर चार दशमलव पाँच प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ। आन्तरिक आर्थिक गतिविधि विस्तारसँगै मूल्यमा थप दबाब पर्ने जनाइएको छ।

चालु खाता बचत आर्थिक वर्ष २०८२/८३ मा कुल गार्हस्थ्य उत्पादनको सात दशमलव दुई प्रतिशत पुग्ने अनुमान गरिएको छ, जुन अघिल्लो वर्ष छ दशमलव सात प्रतिशत थियो। विप्रेषण आप्रवाह र निर्यातमा मध्यम वृद्धि भए पनि वैदेशिक रोजगारीमा अस्थायी कमी, उच्च तेल मूल्यका कारण आयात खर्च बढ्नु तथा पर्यटन आम्दानीमा सम्भावित गिरावटका कारण केही दबाब पर्ने जनाइएको छ। आगामी आर्थिक वर्षमा भने चालु खाता बचत पाँच दशमलव तीन प्रतिशतमा झर्ने अनुमान गरिएको छ।

प्रतिवेदनमा समग्र आर्थिक अवस्था उच्च अनिश्चिततामा रहेको उल्लेख गर्दै मध्यपूर्व द्वन्द्व लम्बिनु, पुँजीगत बजेट कार्यान्वयन कमजोर हुनु, वित्तीय क्षेत्रका जोखिम तथा जलवायुजन्य विपद् प्रमुख चुनौतीका रूपमा औँल्याइएको छ।

साथै अन्तर्राष्ट्रिय तेल मूल्यको उतारचढाव तथा खाडी मुलुकसँग सम्बन्धित विप्रेषणमा सम्भावित कमीले थप जोखिम सृजना गर्न सक्ने जनाइएको छ।

प्रकाशित: २७ चैत २०८२ १८:२७ | Friday, April 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast