काठमाडौँ- नेपाल ग्रामीण चलचित्र महोत्सवको पाँचौँ संस्करण सर्लाहीमा हुने भएको छ। सर्लाहीको चन्द्रनगर गाउँपालिकामा आगामी वर्ष वैशाख १५ देखि १७ सम्म महोत्सव गर्न लागेको आयोजकले जनाएको छ।
यसपटक महाेत्सव तराईमा विस्तार गर्न लागिएको आयोजक संस्था सेलिब्रेटी नेपाल प्रतिष्ठानका अध्यक्ष रघुनाथ सापकोटाले बताए।
उनले भने, ‘महोत्सवमार्फत हामीले अब तराई क्षेत्रका दर्शक, सर्जक र समुदायलाई समेट्ने प्रयास गरेका हौँ।’
उनका अनुसार ‘हिमाल, पहाड, तराई कोही छैन पराइ’ भन्ने मूल नारालाई आत्मसात गर्दै विगतका संस्करणहरू पहाडी क्षेत्रमा गरिएको आयोजकले जनाएको छ।
आयोजकले यसपटक ‘सबैको सिनेमा, सबैका लागि’ भन्ने अवधारणालाई अझ सशक्त बनाउने लक्ष्य लिइएको छ।
महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा आधारित फिचर, सर्ट तथा विभिन्न भाषाभाषी फिल्म प्रदर्शन गरिनेछ। र उत्कृष्टलाई विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ। फिल्मबारे थप जानकारी केही समयमा सार्वजनिक गरिने आयोजकले बताएकाे छ।
महोत्सवमा फिल्म प्रदर्शनसँगै अन्तरक्रिया तथा संवाद कार्यक्रम पनि हुनेछ। महोत्सव चलचित्र विकास बोर्ड र चन्द्रनगर गाउँपालिकाको सहकार्यमा रहनेछ।
यसअघि महोत्सव गोरखाको लाप्राक, काभ्रेपलाञ्चोकको भकुण्डेबेसी, रामेछाप र रसुवामा भएको थियो।




