काठमाडौँ- नेपाल राष्ट्रिय शिक्षक संगठनले ४७औँ शिक्षक दिवस तथा नयाँ वर्ष २०८३ को अवसरमा साेमबार ललितपुरको कुमारीपाटीस्थित आफ्नै कार्यालयमा विशेष कार्यक्रम आयोजना गर्यो। कार्यक्रममा संगठनका अध्यक्ष हंसबहादुर शाहीले शिक्षक अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शाहीले शिक्षक आन्दोलन ४७ वर्षको संघर्ष, समर्पण र उपलब्धिको प्रतीक भएको बताए। उनले शिक्षालाई मौलिक अधिकारको रूपमा स्थापित गरिए पनि व्यवहारमा अझै धेरै चुनौती रहेको बताए।
उनले संविधानको धारा ३१ र ३४ ले शिक्षा र श्रमिक अधिकार सुनिश्चित गरेको स्मरण गराउँदै शिक्षकहरूको ट्रेड युनियन अधिकार कुण्ठित गर्ने कुनै पनि प्रयास अस्वीकार्य हुने बताए।
शाहीले विशेषगरी संघीय शिक्षा ऐन जारी हुन नसक्नु, विभिन्न प्रकारका शिक्षक कर्मचारीबीच असमानता तथा सरकारले गरेका सम्झौताहरू कार्यान्वयनमा ढिलासुस्ती प्रमुख समस्या रहेको बताए।
त्यस्तै, हालै सरकारले गरेको ‘दलगत ट्रेड युनियन खारेजी’ सम्बन्धी निर्णयप्रति पनि उनले आपत्ति जनाउँदै यसले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को मापदण्ड उल्लंघन गर्ने बताए।
उनले शिक्षक आन्दोलन अब अधिकार माग्ने चरणबाट अगाडि बढेर गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने दिशामा केन्द्रित हुनुपर्ने बताए।
कार्यक्रममा विभिन्न पूर्वअध्यक्ष, शिक्षक तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।




