काठमाडौँ- सवारी चालक अनुमतिपत्र (लाइसेन्स) दैनिक करिब ४० हजार हाराहारीमा छपाइ भइरहेको छ। सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले छपाइलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिए।
हालसम्म छपाइ हुन बाँकी रहेका करिब २९ लाख लाइसेन्सलाई २०८३ साल असार मसान्तसम्म छापिसक्ने लक्ष्य राखिएको उनले बताए।
यसमध्ये आगामी वैशाख १२ गतेभित्र १२ लाख लाइसेन्स छपाइ सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ भने बाँकी १७ लाख लाइसेन्स छपाइ प्रक्रिया पनि तीव्र रूपमा अघि बढाइएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रीले डा.विक्रम तिमिल्सिनाले सुरक्षण मुद्रण केन्द्रलाई लाइसेन्स छपाइमा अवरोध आउन नदिन तथा छिटोभन्दा छिटो सबै बाँकी लाइसेन्स छाप्न निर्देशन दिएका छन्।
मन्त्रालयले नतिजामुखी शासकीय व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले १० प्रमुख सुधारात्मक कार्यक्रम समेटिएको विस्तृत कार्ययोजनामा समेत यो विषयलाई प्राथमिकताका साथ राखेको छ।
मन्त्रिपरिषद्को यही चैत १३ गतेको निर्णयअनुसार सार्वजनिक सेवा प्रवाहलाई नागरिकमैत्री, छरितो, पारदर्शी र प्रविधिमैत्री बनाउने लक्ष्यसहित यो कार्ययोजना अघि बढाइएको हो।
यसैबीच, सेवाग्राहीलाई थप सहजताका लागि यातायात व्यवस्था विभागले दैनिक रूपमा छपाइ भएका तथा वितरण गरिने लाइसेन्सको विवरण आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्न थालेको छ।
त्यस्तै, छपाइ सम्पन्न भएका लाइसेन्स हुलाक सेवामार्फत जतिसक्दो चाँडो देशभरका विभिन्न यातायात कार्यालयमा पठाइने व्यवस्था गरिएको छ। यसले वितरण प्रक्रियालाई समेत व्यवस्थित बनाएको छ।




