हिमचितुवाको आक्रमणबाट मरे २१ भेडाच्यांग्रा

हिमाल प्रेस २३ चैत २०८२ ९:३४ | Monday, April 6, 2026
6
SHARES
हिमचितुवाको आक्रमणबाट मरे २१ भेडाच्यांग्रा सञ्जोग राई/डब्ल्युडब्ल्युएफ

मुस्ताङ- उपल्लो मुस्ताङको लोमान्थाङ–४ चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्यांग्रा मरेका छन् भने आक्रमणमा परी सात भेडाच्यांग्रा घाइते भएको छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० लोमान्थाङका अनुसार लोमान्थाङ –४ न्याम्डोका स्थानीय पशुपालक किसान घ्याचो गुरुङको लोमान्थाङ–४ चुमजुङमा रहेको च्यांग्रा खोरमा गत शनिबार राति हिमचितुवाले पशुचौपयामाथि आक्रमण गरेको थियो । एक्याप प्रमुख उमेश पौडेलका अनुसार चितुवाको आक्रमणबाट १० च्यांग्रा र ११ भेडा मरेका हुन् । खोरमा तीन सय १५ वटा भेडाच्यांग्रा रहेका थिए ।

हिमचितुवाको आक्रमणबाट भेडाच्यांग्रा मरेका सूचनापछि एक्याप लोमान्थाङका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय र लोमान्थाङ गाउँपालिकाका पशु प्राविधिकलगायतको टोली आइतबार बिहान घटनास्थलमा पुगेका थिए । एक्याप लोमान्थाङ प्रमुख पौडेलका अनुसार पीडित पशुपालकको च्यांग्रा खोर ग्याबिन तारको घेराबारभित्र रहेको अवस्थामा हिमचितुवाले आक्रमण गरी भेडाच्यांग्रा क्षति पुर्याएको हो । हिमचितुवाको आक्रमणबाट प्रारम्भिक मूल्य मूल्याङ्कन गर्दा रु चार लाख ५५ हजार क्षति भएको जनाइएको छ ।

यसअघि गत फागुन ११ गते उपल्लो मुस्ताङको लोमान्थाङ–४ किम्लिङमा स्थानीय पशुपालक किसान मिङमर गुरुङको खोरमा हिमचितुवाले आक्रमण गर्दा नौवटा च्यांग्रा मरेका थिए भने नौवटा च्यांग्रा घाइते भएका थिए ।

जिल्लाको तल्लो क्षेत्रस्थित घरपझोङ गाउँपालिका–२ मार्फामा हिमचितुवाले स्थानीय सन्तोष परियारको खोरमा दुई पटकसम्म आक्रमण गर्दा तीन दर्जन बढी च्यांग्रा मरेका थिए । एक्याप लोमान्थाङले हिमचितुवाले भेडाच्यांग्रामा क्षति पुर्याएको स्थानमा हिमचितुवाको निगरानी गर्न तीनवटा सिसीक्यामेरा जडान गरिएको जनाएको छ । जिल्लामा चालु आर्थिक वर्ष एक्याप लोमान्थाङ र जोमसोमले पाँचवटै पालिकाका हिमचितुवाको बासस्थान रहेको सम्भावित स्थानमा हिमचितुवा गणनाका लागि सिसीक्यामेरा जडान गरेको छ ।

जिल्लामा एक्यापले हिमचितुवा तथा अन्य वन्यजन्तुपीडित किसानलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागबाट उपलब्ध हुने वन्यजन्तुको क्षति राहत उपलब्ध गराउने गरेको एक्यापको भनाइ छ । वन्यजन्तु क्षति राहत निर्देशिकाबमोजिम क्षति भएका पशुचौपायको क्षति मूल्याङ्कन गरी पीडित पशुपालकलाई राहत उपलब्ध गराइने गरिएको छ । पछिल्लो समय विभागबाट वन्यजन्तु क्षति राहत उपलब्ध ढिलाइ हुने भएकाले एक्यापले आन्तरिक कोषबाटै व्यवस्था गरेर पीडित पशुपालकलाई राहत उलब्ध गराउने गरेको एक्याप प्रमुख पौडेलको भनाइ छ ।

पछिल्लो समय हिमाली जिल्ला मुस्ताङमा मानव र हिमचितुवाको द्वन्द्ध बढ्दै गएको छ । हिउँचितुवाले स्थानीय पशुपालकका गोठ तथा खोरभित्र पसेर आक्रमण गर्ने र उच्च लेकको चरन क्षेत्रमा पशुचौपाया क्षति बनाउने घटना बढ्दै जान थालेको छ । हिउँचितुवाको जोखिमका कारण पशुपालक व्यवसाय नै सङ्कटमा पर्न थालेको पीडित च्यांग्रापालक मिङमर गुरुङले बताए ।

यसैगरी जलवायु परिवर्तनको असरका कारण उच्च लेकमा घाँस अभाव हुँदा हिउँचितुवाको आहारा प्रजाति बेँसी झर्ने गरेकाले त्यसलाई पछ्याउँदै हिउँचितुवा बस्ती नजिक आउने गरेको पाइएको छ । पछिल्लो केही वर्षयता हिउँचितुवा मुख्य राजमार्ग सडक र बस्ती नजिक देखापर्न थालेको छ ।

प्रकाशित: २३ चैत २०८२ ९:३४ | Monday, April 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast