काठमाडौँ- नेपाल प्रहरीले सर्वसाधारण यात्रीलाई दुःख हैरानी दिने, अभद्र व्यवहार गर्ने गरेको अभियोगमा १३ जनालाई काठमाडौँको नयाँ बसपार्कबाट बिहीबार नियन्त्रणमा लिएको छ।
काठमाडौँका विभिन्न स्थानमा सञ्चालित टिकट काउन्टरमा काम गर्ने व्यक्तिले बस तथा सुमोमा चढी उपत्यका बाहिर जाने यात्रीलाई दुःख हैरानी दिने अभद्र व्यवहार गर्ने गरेको सूचनाका आधारमा १३ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए।
उनले भने,‘आफूहरूले भनेको सवारीसाधनमा यात्रा गर्नुपर्छ भनी सर्वसाधारण यात्रीको झोला तथा सामान जबर्जस्ती तान्ने, दुःख हैरानी दिने अभद्र व्यवहार गर्नेलाई प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।’
नियन्त्रणमा लिइएकामाथि थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए।




