स्याङ्जा- स्याङ्जामा जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। सोमबार साँझ बिरुवा गाउँपालिका–४ मडकिनास्थित घुम्ती–बिरुवा सडक खण्डमा ग १ ज ७०८४ नम्बरको जिप दुुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
पुतलीबजारबाट बिरुवातर्फ जाँदै गरेको जिप अनियन्त्रित भई सडकबाट झण्डै १५ मिटर तल खसेर दुर्घटना भएको डीएसपी प्रशन्न राज चौधरीले जानकारी दिए। जिपमा चालकसहित १५ जना सवार थिए। घाइतेलाई उद्धार गरी प्रदेश अस्पताल पुतलीबजार पठाइएको प्रहरीले जनाएको छ। घाइतेमध्ये केहीलाई बढी चोट लागे पनि खतरामुक्त रहेका स्वास्थ्यकर्मीले बताएका छन्।
दुर्घटनामा घाइते हुनेमा स्याङ्जा बिरुवा गाउँपालिका–४ का ८ वर्षीया एन्जल नेपाली, १३ वर्षीय कृष्चल दर्जी, ५० वर्षीय मानसिङ गुरुङ, ५९ वर्षीया दालमाया गुरुङ, ६५ वर्षीया रेमकुमारी बस्याल, पुतलीबजार नगरपालिका–७ की ५७ वर्षीया चन्द्र सुब्बा गुरुङ, ३३ वर्षीया शर्मीला नेपाली, उनका साढे २ वर्षका छोरा कृष्ण नेपाली, कास्की पोखरा महानगरपालिका–११ की ६० वर्षीया विष्णुमाया गुरुङ, पोखरा–१५ की ६० वर्षीया बिमला गुरुङ र पोखरा–१७ की ५६ वर्षीया सीता वाग्ले छन्।




