काठमाडौँ- श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले शिक्षालाई उत्पादन, निर्माण र आविष्कारसँग जोड्नुपर्ने बताएका छन्। बिहीबार सिंहदरबारस्थित संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै उनले परम्परागत शिक्षण प्रणालीभन्दा व्यवहारिक र जीवनोपयोगी शिक्षा आवश्यक रहेको बताए।
शिक्षा केवल किताबी ज्ञानमा सीमित राख्नुको सट्टा सीप, उत्पादन र नवप्रवर्तनसँग प्रत्यक्ष रूपमा जोडिनुपर्ने सांसद राईले बताए।उनले भने, ‘उत्पादन निर्माण र आविष्कारसँग जोड्नु पर्दछ शिक्षालाई। शिक्षा भन्ने बित्तिकै कथा पढ्ने विषयवस्तु होइन। त्यो भन्ने बित्तिकै उत्पादन निर्माण र आविष्कारसँग जोडिनु पर्दछ भन्ने हाम्रो माग हो। त्यसतर्फ सरकारले ध्यान दियोस्।’
राईले विद्यालय तहमा अध्ययन प्रणालीमा समेत परिवर्तन गर्नुपर्ने उल्लेख गर्दै साप्ताहिक शिक्षण अवधिको पुनर्संरचना गर्न सुझाव दिए। उनले भने, ‘हप्तामा तीन दिन मात्र थेरी (सिद्धान्त) पढ्दा हुन्छ। चार दिन विद्यार्थीले उत्पादन निर्माण र आविष्कारसँग जोडेर क्रियाकलापहरू गर्न सक्नुपर्दछ। त्यो खालको जीवनाभगी शिक्षा लागू गरिनु पर्दछ भन्ने हामी माग राख्दछौँ।’
कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै उनले आर्थिक समृद्धिका लागि उत्पादनमूलक शिक्षा र कृषिमा आधारित सीप विकास अपरिहार्य रहेको धारणा राखे। उनले भने,‘खेतीबारीको समस्या हल नगरी देशको आर्थिक समस्या हामीले सुल्झाउन सक्दैनौँ, आर्थिक उन्नति हुन सक्दैन। त्यसो भएको कारणले कृषिमा देखिएका समस्याहरू पहिचान गर्ने र समस्या हल गर्ने सबै खालका प्राविधिक उपायहरू अपनाउने काम गरिनु पर्दछ।’
यसैगरी उनले सरकारले हालै गरेका केही निर्णयहरू पुनर्विचार गर्नुपर्ने पनि बताए। वृद्ध भत्ता, विद्यार्थी संगठन, ब्रिज कोर्स लगायतका विषयमा भएका परिवर्तनप्रति ध्यानाकर्षण गराउँदै उनले भने,‘वृद्ध भत्ता जस्तो समयको मापदण्डलाई जुन फेरबदल गर्ने भन्ने कुराहरू आएको छ, कार्यसूचीमा त्यस्ता कुराहरूमा सरकारले ध्यान दिएर मात्र अगाडि बढ्दा राम्रो हुन्छ।’




