नेकपा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'
काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीले सभामुख पदका लागि उम्मेदवारी नदिने निर्णय गरेको छ भने उपसभामुख पदमा आफ्नो दाबी प्रस्तुत गर्ने जनाएको छ।
पार्टीका प्रमुख सचेतक युवराज दुलालले संसदमा दुई तिहाइ नजिकको बहुमतसहित रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभामुखमा उम्मेदवारी दिनु स्वाभाविक भएकाले उक्त पदमा पार्टीले समर्थन गर्ने नीति लिएको हो। उनले रास्वपाका उम्मेदवार डीपी अर्याललाई समर्थन रहने बताए।
यसअघि नै रास्वपाका उपसभापति डीपी अर्यालले सभामुख पदका लागि उम्मेदवारी दर्ता गरिसकेका छन्। नेकपाले उपसभामुख पदमा भने आफ्नो दाबी रहने जनाएको छ। सहमति बनेमा उक्त पदमा उम्मेदवारी दिने तयारी रहेको पार्टीका एक नेताले बताएका छन्।
नेपाली कांग्रेसले पनि सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ। सत्तापक्षसँग पर्याप्त बहुमत रहेको र सभामुख पद साझा र निष्पक्ष हुने मान्यताका आधारमा उम्मेदवारी नदिने निर्णय गरिएको कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बताएका छन्।




