इरानद्वारा इजरायलमा नयाँ क्षेप्यास्त्र प्रहार

हिमाल प्रेस २० चैत २०८२ १५:५७ | Friday, April 3, 2026
32
SHARES
इरानद्वारा इजरायलमा नयाँ क्षेप्यास्त्र प्रहार फाइल तस्बिर : एएफपी

काठमाडौँ– पश्चिम एसियामा जारी द्वन्द्व थप उग्र बन्दै जाँदा इजरायलमाथि इरानबाट नयाँ क्षेप्यास्त्र आक्रमण भएको छ, जसले क्षेत्रीय मात्रै नभइ, विश्वव्यापी असर गहिरिँदै गएको संकेत दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध अझ कडा सैन्य कारबाहीको चेतावनी दिएको केही घण्टामै यस्तो आक्रमण भएको हो।

इजरायली सेनाका अनुसार शुक्रबार इरानबाट प्रहार गरिएका मिसाइलहरूलाई हवाई प्रतिरक्षा प्रणालीले अवरोध गर्ने प्रयास गरेको थियो। तत्काल ठूलो मानवीय क्षतिको विवरण नआए पनि आपतकालीन सेवाहरूले घर र सवारीसाधनमा क्षति पुगेको पुष्टि गरेका छन्। तेल अभिवस्थित रेल स्टेशन क्षेत्रमा पनि छर्राहरूले असर पारेको जनाइएको छ।

करिब एक महिनाअघि अमेरिका र इजरायलले इरानभित्र आक्रमण सुरु गरेपछि सुरु भएको यो युद्धले अहिले व्यापक प्रतिशोधको चक्र सिर्जना गरेको छ। द्वन्द्वले मध्यपूर्वभर फैलिँदै विश्व अर्थतन्त्रमा समेत गम्भीर प्रभाव पारिरहेको छ। विशेषगरी होर्मुज इरानले प्रभावकारी रूपमा अवरुद्ध गरेपछि ऊर्जा बजारमा ठूलो दबाब परेको छ। होर्मुज विश्वको झन्डै पाँचौँ भाग तेल र ग्यास आपूर्ति हुन्छ।

ट्रम्पले इरानलाई ‘पाषाण युगमा फर्काउने’ चेतावनी दिँदै वार्तामा सहमति नभए थप आक्रमण तीव्र बनाइने बताएका थिए। उनले सामाजिक सञ्जालमार्फत ‘अझ बाँकी रहेको संरचना नष्ट गर्न सुरु पनि गरिएको छैन’ भन्दै पुल र विद्युत् पूर्वाधार लक्षित हुनसक्ने संकेत दिए। यसको प्रत्युत्तरमा इरानका विदेशमन्त्री अब्बास अराघचीले नागरिक पूर्वाधारमाथि आक्रमणले आत्मसमर्पण गराउन नसक्ने स्पष्ट पारे।

दुवै पक्षले अब सैन्यमात्र नभई आर्थिक र औद्योगिक संरचनालाई लक्षित गर्न थालेपछि विश्वव्यापी ऊर्जा आपूर्ति र आपूर्ति शृंखलामा गम्भीर अवरोधको चिन्ता बढेको छ।

यसबीच, खाडी क्षेत्र पनि प्रत्यक्ष द्वन्द्वको घेरामा तानिएको छ। कुवेतको राष्ट्रिय तेल कम्पनीअन्तर्गतको रिफाइनरीमा ड्रोन आक्रमण हुँदा आगलागी भएको छ भने संयुक्त अरब इमिरेट्सले मिसाइल र ड्रोन आक्रमणहरू विफल पारेको जनाएको छ। इरानले अघिल्लो दिन यूएई, बहराइन र इजरायलका औद्योगिक लक्ष्यहरूमा आक्रमण गरेको दाबी गरेको छ।

इरानभित्र निरन्तर बमबारी भइरहे पनि तेहरानका केही स्थानमा सर्वसाधारणको दैनिक जीवन आंशिक रूपमा जारी देखिएको छ। मेलाट पार्कमा परिवारहरू भेला भइरहेका छन् भने सुरक्षा चौकीहरू उल्लेख्य रूपमा बढाइएको एक स्थानीयले बताएका छन्।

‘सत्ता अझै उनीहरूकै हातमा छ भन्ने देखाउन मानिसहरू सडकमा देखिन्छन्,’ उनले नाम नखुलाउने सर्तमा बताए।

इजरायलमा पनि धार्मिक पर्व निस्तारपर्व चलिरहे पनि केही नागरिकले भूमिगत बंकरमै उत्सव मनाउन बाध्य भएका छन्। तेल अभिवमा बंकरभित्र बसेर पर्व मनाइरहेका एक लेखकले यो अवस्था आफ्नो रोजाइ नभएको बताए।

युद्धको असर विश्वभर फैलिएको छ। ट्रम्पको चेतावनीपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य प्रति ब्यारेल ११० डलरसम्म पुगेको छ। विश्लेषकहरूका अनुसार अमेरिकी प्रशासनले युद्ध अन्त्यबारे स्पष्ट रणनीति नदिँदा अनिश्चितता बढेको छ। डोइच बैंकका जिम रिडले अमेरिका तत्काल द्वन्द्वबाट बाहिरिने संकेत नदेखिएको टिप्पणी गरे।

विश्व बैंकले यस अवस्थाले मुद्रास्फीति, रोजगारी र खाद्य सुरक्षामा गम्भीर जोखिम निम्त्याउने चेतावनी दिएको छ। चीनका एयरलाइन्सहरूले इन्धन अधिभार बढाएका छन्, मलेसियाले सरकारी कर्मचारीलाई घरबाट काम गर्न निर्देशन दिएको छ भने पाकिस्तानले इन्धन मूल्य बढाएको छ। भुटानमा समेत इन्धन अभावका कारण राजधानी थिम्पूमा लामो लाइन देखिएको छ।

इजिप्टले ऊर्जा खर्च नियन्त्रण गर्न पसल र रेस्टुरेन्टहरू छिटो बन्द गर्न आदेश दिएको छ। यसैबीच, ट्रम्पले इरानको नयाँ नेतृत्व वार्तामा लचिलो हुन सक्ने संकेत दिएका छन्, तर तेहरानले अमेरिकी प्रस्तावलाई अस्वीकार गर्दै ‘अतिवादी र अव्यावहारिक’ भनेको छ।

कूटनीतिक तहमा पनि तनाव कायम छ। होर्मुज खुलाउने विषयमा बेलायतले करिब ४० देशलाई एकजुट गराएको छ। इटालीले आवश्यक वस्तु ढुवानीका लागि मानवीय मार्ग खोल्न आग्रह गरेको छ।-रासस/एएफपी

प्रकाशित: २० चैत २०८२ १५:५७ | Friday, April 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast