म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा एक महिनाअघि रूखबाट लडेर मृत्यु भएको भनिएका युवाको हत्या भएको खुलासा भएको छ। गत फागुन ७ गते दानाका २४ वर्षीय सौरव भनिने सुकमन विकको गैयाभाट जंगलमा घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको भनेर दाहसंस्कार गर्ने तयारी भएको थियो।
घटनाको बारेमा जानकारी पाएपछि मृतकको घरमा पुगेको प्रहरी टोलीले शवलाई परीक्षणका लागि बेनी अस्पताल ल्याएको थियो। शव परीक्षण प्रतिवेदन र घटनाको सुक्ष्म अनुसन्धानका क्रममा एक महिनापछि दानाका २२ वर्षीय प्रकाश विकले सौरवको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए।
‘शनिबार पक्राउ परेका प्रकाशले प्रारम्भिक बयानमा सौरवको हत्या गरेको स्वीकार गरेका छन्’, उनले भने, ‘मदिरा सेवनपछि भएको विवादले हत्याको रूप लिएको प्रकाशले स्वीकारेका हुन् । पारिवारिक सम्बन्धका कारण हत्याको घटना लुकाउने प्रयास भएको बुझिएको छ।’
ज्यानसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धानका लागि प्रकाशलाई हिरासतमा राखिएको प्रहरी निरीक्षक तिमिल्सिनाले बताए। रासस




