काठमाडौँ- पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको निवेदनमा आज सुनुवाइ हुँदैछ । गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै तत्काल रिहाइ गर्न माग गर्दै आइतबार दायर भएको बन्दीप्रत्यक्षीकरण रिटमा सोमबार सुनुवाइका लागि पेसी तोकिएको हो ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनामा अनुसन्धानका लागि पक्राउ परेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकका तर्फबाट यशोदा लेखक र ओलीका तर्फबाट राधिका शाक्यले निवेदन दर्ता गराएकी हुन् । उनीहरूको मुद्दामा म्याद थप गर्न आवश्यक नदेखिएको ठहर भएमा आजै छुट्नेछन्। यदि अनुसन्धान गर्न आवश्यक रहेको आदेश आएमा हिरासत बस्नुपर्ने हुन्छ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको दमनमा जिम्मेवार ठहर गर्दै घटना जाँचबुझ आयोगले उनीहरूविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो । जाँचबुझ आयोगको प्रतिवेदनकै आधारमा वर्तमान सरकारले तत्कालीन प्रधानमन्त्री र तत्कालीन गृहमन्त्रीलाई शनिबार पक्राउ गरेको थियो।




