काठमाडौँ- भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरुले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन्।
जेनजी मुभमेन्ट एलाइन्स, नेपाल जेनी फ्रन्ट, जेनजी सिभिल फोरमलगायतका युवाहरुको समूहले कार्की आयोगको पूरा प्रतिवेदन खोइ? भन्दै सोमबार काठमाडौँको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन्।
आँखामा पट्टी बाँधेर प्रदर्शनमा उत्रिएका युवाहरुले जेनजी सहिद र घाइतेहरुलाई न्याय दिनुपर्ने भन्दै प्लेकार्ड प्रदर्शन गरेका थिए। साथै उनीहरुले वर्तमान सरकारले आफ्ना निकटलाई नियुक्ति दिने काम गरेको भन्दै आपत्ति जनाएका छन्।
युवाहरुले आफूहरु भाग खोज्नका लागि नभइ मुलुकको परिवर्तनका लागि आन्दोलनमा होमिएकाले युवासँग सरकारले गरेको सहमति कार्यान्वयनको समेत माग गरेका छन्।
त्यसैगरी युवाहरुले यसअघि बनेका विभिन्न आयोगका प्रतिवेदन कार्यान्वयन नभएजस्तै कार्की आयोगको प्रतिवेदन पनि कार्यान्वयन नहुने हो की भन्ने आशंका समेत व्यक्त गरेका छन्।





