काठमाडौँ- नेपाली कांग्रेसले राष्ट्रियसभामा विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत हुने निर्णय गरेको छ।
बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको कांग्रेस राष्ट्रियसभाका वहालवाला र नवनिर्वाचित सदस्यहरुबीचको छलफलले आगामी दिनमा जनताको भावनाअनुरुप दलको तर्फबाट राष्ट्रियसभामा एकताबद्ध भएर सक्रिय र विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत हुने निर्णय गरेको कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले जानकारी दिए।
राष्ट्रियसभामा ठूलो दलको हैसियतले रचनात्मक भूमिका रहने उनले बताए। उनले नयाँ परिस्थितिमा जिम्मेवारी पनि नयाँ ढंगले थपिएको भन्दै उनले राष्ट्रको हितमा, जनताको भावनाअनुरूप अरूभन्दा सक्रिय जागरूकता र विशेष जिम्मेवारीका साथ काम गरेर अघि बढ्ने उल्लेख गरे।
प्रतिनिधिसभा निर्वाचनको नजिता अप्रत्याशित देखिएको भन्दै पार्टीभित्र छलफल गरेर आवश्यक निष्कर्ष निकाल्ने उनको भनाइ छ। सिटौलाले पार्टीभित्र सम्पूर्ण एकता निर्माण गरेर अगाडि जाने बाटो खोज्नुपर्नेमा जोड दिए।
छलफलपछि कांग्रेसका नेता जीतजंग बस्नेतले विशेष महाधिवेशनको कारणले पार्टीले पराजय बेहोर्नुपरेको भन्दै सभापतिले राजीनामा दिनुपर्ने बताए।
बस्नेतले आफ्नो राजीनामाको विषयमा सभापति गगन थापाले मिडिया ट्रायल गरेको आरोपसमेत लगाए। विशेष महाधिवेशनको औचित्य समाप्त भएकाले नियमित महाधिवेशनमा जानुपर्ने उनको भनाइ छ।
नेता बस्नेतले जनताले दिएको म्याण्डेड स्वीकार्य रहेको र अब आगामी दिनमा राम्रो काम गर्दै जानुपर्ने धारणा राखे।





