काठमाडौँ- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपाली इतिहासकै कान्छा तथा मधेशी मूलका पहिलो प्रधानमन्त्रीका रूपमा चर्चा गरिएका युवा इन्जिनियर बालेन्द्र शाहलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले लेखेका छन्, ‘ऐतिहासिक कार्यभार बहन गर्न लाग्नुभएका नेपाली इतिहासकै कान्छा र मधेशी मूलका पहिलो प्रधानमन्त्री युवा इन्जिनीयर बालेन्द्र शाहलाई सफल कार्यकालको हार्दिक शुभकामना!’
उनले देशको वर्तमान अवस्था आन्तरिक रूपमा लामो समयदेखि संरचनात्मक गत्यावरोधमा फसेको अर्थ–राजनीति र बाह्य रूपमा तीव्र गतिले परिवर्तन भइरहेको भू–राजनीतिक परिवेशले चुनौती र सम्भावना दुवै प्रस्तुत गरिरहेको उल्लेख गरेका छन्।
यस्तो अवस्थामा ती चुनौतीहरूको कुशल व्यवस्थापन गर्दै २१औँ शताब्दीका जनआकांक्षा पूरा गर्न सफल हुने विश्वास उनले व्यक्त गरेका छन्।
भट्टराईले लामो लोकतान्त्रीकरण प्रक्रियापछि नेपाल सुशासन र समावेशी समृद्धिको नयाँ चरणमा प्रवेश गरेको उल्लेख गर्दै अब समयानुकूल डिजिटल प्रविधि तथा एआइमैत्री युवापुस्तामा नेतृत्व हस्तान्तरण हुँदै गएको वास्तविकतालाई आत्मसात गर्नुपर्ने बताएका छन्।
उनले लोकतान्त्रिक संस्कृतिको विकासमा जोड दिँदै भनेका छन्, ‘कसैको देवत्वकरण वा दानवीकरण नगरी गुणदोषका आधारमा सहकार्य र प्रतिस्पर्धा गर्ने नयाँ लोकतान्त्रिक संस्कृतिको विकास गरौं!’




