खाडीमा रहेका नेपालीहरू फर्कन चाहे जसरी पनि उद्धार गर्छौँ : परराष्ट्र मन्त्रालय

हिमाल प्रेस २७ फागुन २०८२ १८:३१ | Wednesday, March 11, 2026
14
SHARES
खाडीमा रहेका नेपालीहरू फर्कन चाहे जसरी पनि उद्धार गर्छौँ : परराष्ट्र मन्त्रालय

काठमाडौँ- परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको द्वन्द्वका कारण स्वदेश फर्कन चाहने नेपाली नागरिकहरूलाई सरकारले जसरी पनि उद्धार गर्ने जनाएको छ।

बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै परराष्ट्र मन्त्रालयले पश्चिम एसियाका देशमा गएका श्रमिकहरूलाई समस्या देखिए जसरी पनि उद्धार गर्ने जनाएको हो।

पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री बालानन्द शर्माले ती देशमा रहेका नेपाली श्रमिकहरू जोखिममा नरहेको बताए। उनले नेपाली श्रमिकहरू जोखिममा परे उद्धारका लागि सरकार तयारी अवस्थामा रहेको बताए।

एकैपटक लाखौँको संख्यामा उद्धार गर्नुपर्ने अवस्था आए त्यही प्रकारको पूर्वाधार जुटाइने उनको भनाइ छ। मन्त्री शर्माले द्वन्द्वका कारण श्रमिकहरू भन्दा बढी ट्रान्जिटमा फसेकाहरू समस्यामा रहेको उल्लेख गरे। ट्रान्जिटमा फसेकाहरूको आवास र खानपानको व्यवस्था सम्बन्धित नियोग र सम्बन्धित एयरलाइन्सहरूले गरेको उनले जानकारी दिए।

त्यसै गरी परराष्ट्रका मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले खाडीको द्वन्द्वका कारण हालसम्म १५ जना नेपाली घाइते भएको र एक जनाको मृत्यु भएको जानकारी दिए। मृत्यु भएकाको अब नेपाल ल्याएर परिवारलाई हस्तान्तरण समेत भइसकेको र क्षतिपूर्तिको प्रक्रिया अघि बढाइएको उनले बताए।

उनले द्वन्द्वमा प्रभावित नेपाली नागरिकलाई सम्पर्कमा ल्याउन नेपाली नियोगहरूले काम गरिरहेको उल्लेख गरे। हालसम्म कन्सुलर विभागको अनलाइनमा ६३ हजार ५ सय ७० जनाले आफ्नो विवरण दर्ता गरेको र असुरक्षित गरेकाहरुलाई नियोगमार्फत सम्पर्क गर्ने काम भइरहेको खड्काले बताए।

प्रकाशित: २७ फागुन २०८२ १८:३१ | Wednesday, March 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast