पानीजहाज भाडामा लिएर भए पनि द्वन्द्वग्रस्त मुलुकबाट नेपालीको उद्धार गर्छौं : परराष्ट्र सचिव राई

हिमाल प्रेस २७ फागुन २०८२ २०:१० | Wednesday, March 11, 2026
46
SHARES
पानीजहाज भाडामा लिएर भए पनि द्वन्द्वग्रस्त मुलुकबाट नेपालीको उद्धार गर्छौं : परराष्ट्र सचिव राई

काठमाडौँ- परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले पश्चिम एसियामा बढ्दो तनावका बीच द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपाली नागरिकलाई आवश्यकता परे पानीजहाज भाडामा लिएर भए पनि उद्धार गरिने बताएका छन्।

सिंहदरबारमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले द्वन्द्वको अवस्थाअनुसार नेपालीको उद्धारका लागि विभिन्न विकल्पहरूबारे मन्त्रालयले सोचेको बताएका हुन्।

‘पर्यो भने पानीजहाज नै भाडामा लिएर पनि नेपालीहरूको उद्धार गर्छौं। तर त्यो अवस्था नआउला। केही दिनमा शान्तिको बाटोमा जानेछ भन्ने आशा गरेका छौं। तर सबै प्रकारका उद्धारका तयारीहरू हामीले गरेका छौं,’ सचिव राईले भने।

अमेरिका, इजरायल र इरानबीचको तनावका कारण खाडी देशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्थाबारे सरकार निरन्तर निगरानीमा रहेको पनि उनले जानकारी दिए।

उक्त पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री बालानन्द शर्माले पनि पश्चिम एसियामा देखिएको तनावले त्यहाँ कार्यरत नेपाली श्रमिकको सुरक्षाबारे सरकार गम्भीर रहेको बताए। उनले आवश्यक परे नेपाली नागरिकलाई सुरक्षित रूपमा स्वदेश फर्काउने योजना तयार बताए।

शर्माले भने,‘पश्चिम एसियाका देशमा रहेका नेपालीहरूलाई हामीले जसरी पनि उद्धार गर्नैपर्छ। सक्दिन भनेर कहाँ पाइन्छ। हाम्रा नागरिक बाहिर देशमा अलपत्र भए भने ल्याउन सक्दिन भन्न कहाँ पाइन्छ र जसरी पनि ल्याउनै पर्छ। त्यसका लागि अरु विकल्प छैन। योजना बनाएर जानुपर्छ।’

इजरायलमा कृषि क्षेत्रमा कार्यरत नेपाली श्रमिकहरूको सुरक्षाबारे पत्रकारहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले त्यहाँ आवश्यक सुरक्षा संरचना रहेको बताए। उनले भने,‘इजरायलमा धेरै कृषि केन्द्रहरूमा बंकर छ। म गएको छु। मैले देखेको छु। कति बंकरमा बसेको पनि छु। हामी आत्तिनुपर्दैन। नभए पनि वैकल्पिक व्यवस्था गरिएको हुन्छ। यसमा इजरायलीहरू सचेत छन्।’

सरकारले पश्चिम एसियाका विभिन्न मुलुकमा रहेका नेपालीहरूको अवस्थाबारे निरन्तर जानकारी लिँदै आवश्यक परे उद्धारका सबै विकल्प खुला राखेको पनि मन्त्रालयले जनाएको छ।

प्रकाशित: २७ फागुन २०८२ २०:१० | Wednesday, March 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast