दलैपिच्छेको परराष्ट्र नीतिमा हामी विश्वास गर्दैनौँ : परराष्ट्रमन्त्री खनाल

हिमाल प्रेस १३ चैत २०८२ १६:४८ | Friday, March 27, 2026
16
SHARES
दलैपिच्छेको परराष्ट्र नीतिमा हामी विश्वास गर्दैनौँ : परराष्ट्रमन्त्री खनाल परराष्ट्रमन्त्री शिशिर खनाल

काठमाडौँ- नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दलैपिच्छेको परराष्ट्र नीतिमा विश्वास नगर्ने बताएका छन्। शुक्रबार परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालेका खनालले यस्तो बताएका हुन्।

सन्तुलित र स्थिर परराष्ट्र नीति नै नेपालको पहिचान रहेको भन्दै उनले भने, ‘नेपालजस्तो भूराजनीतिक रूपमा संवेदनशील देशका लागि परराष्ट्र नीति सधैँ सन्तुलन र स्थिरताको साथमा अघि बढाउनु पर्छ यसमा रास्वपा र म सचेत छु।’

भारत र चीनबीच सन्तुलन कायम गर्दै अमेरिकालगायत विश्व शक्तिसँग सम्बन्ध व्यवस्थापन गर्नु चुनौतीपूर्ण रहेको उनको आशय थियो। ‘नेपालको परराष्ट्र नीति सरकार फेरिएपिच्छे फेरिँदैन, यो संविधानले निर्देशित गर्छ,’ खनालले भने, ‘स्पष्ट, सन्तुलित र प्रभावकारी बनाउने लक्ष्य राखेर अघि बढ्ने हो।’

द्विपक्षीय तथा बहुपक्षीय सम्बन्ध सुदृढ पार्ने र नेपाललाई शान्तिको पक्षधर राष्ट्रका रूपमा स्थापित गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन्। उनका धारणाले पुरानो शैलीमा केही परिवर्तन त होला तर कूटनीतिमा नेपालले अँगाल्दै आएको पक्षमा भने निरन्तरता रहने स्पष्ट देखिन्छ। उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आवाज उचो पार्ने पनि बताएका छन्।

बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारमा परराष्ट्रमन्त्री बनेका खनालको नियुक्तिलाई नेपालको कूटनीतिमा नयाँ पुस्ताको परीक्षण र प्रविधिमैत्री सुधारको सुरुवातका रूपमा पनि हेरिएको छ। पदभार ग्रहणलगत्तै खनालले सार्वजनिक गरेको धारणाले उनको दृष्टिकोण स्पष्ट पार्छ।

‘केवल पद होइन, नेपालको सार्वभौमसत्ता, गरिमा र राष्ट्रिय हितको संरक्षण तथा प्रवर्द्धन गर्ने गम्भीर दायित्वका रूपमा मेरो जिम्मेवारी रहेको छ,’ उनले भने, ‘आमनागरिकका अपेक्षालाई आत्मसात गर्दै नेपालको राष्ट्रिय हित र कूटनीतिक मर्यादा उच्च राख्न म पूर्ण प्रतिबद्धताका साथ लाग्नेछु।’ उनले उत्तरदायित्वपूर्ण, पारदर्शी र राष्ट्रिय हितकेन्द्रित रहेर काम गर्ने आफ्नो परिचय रहेको बताए।

‘नेपाल बुद्ध जन्मेको भूमि र शान्तिकामी राष्ट्र हो, द्वन्द्वरत पक्षलाई संवादमार्फत समाधान खोज्न आग्रह गर्छौँ,’ उनले भने। यसबाट शान्ति कूटनीतिलाई प्रशय दिँदै मुलुकलाई विश्वमा शान्तिको लागि ‘लविङ’ गर्ने मुलुक भनेर चिनाउनेमा उनको जोड देखिन्छ।

सुशासन, डिजिटल कूटनीतिका साथै आर्थिक प्राथमिकता, सुशासन र आर्थिक समृद्धि खनालको कार्यकालको मुख्य आधार हुने देखिन्छ। परराष्ट्र मन्त्रालयलाई यी दुई क्षेत्रमा केन्द्रित गर्ने उनको योजना छ। सबैभन्दा उल्लेखनीय योजना हो– कन्सुलर सेवालाई पूर्ण डिजिटल बनाउने।

सेवाग्राहीलाई सरकारी कार्यालय नपुगी प्रविधिमार्फत सेवा दिनेु लक्ष्यले विदेशमा रहेका नेपालीका लागि ठूलो राहत दिन सक्छ। दूतावास र वाणिज्य दूतावासका सेवाहरू सुस्त र झन्झटिलो भएको गुनासो लामो समयदेखि छ। डिजिटल कूटनीति खनालको प्रमुख पहिचान बन्न सक्ने सम्भावना छ। त्यसैगरी, आर्थिक कूटनीतिलाई प्राथमिकता दिने उनको भनाइबाट स्पष्ट हुन्छ।

‘आर्थिक समृद्धि भन्नासाथ अर्थ कूटनीति हाम्रो ध्यानको केन्द्रमा हुन्छ,’ उनले भने। विदेशी लगानी आकर्षण, व्यापार विस्तार र आर्थिक साझेदारी बढाउने दिशामा उनले सक्रियता देखाउने अपेक्षा गरिएको छ। संकट व्यवस्थापनमा तत्काल चासोखनालले पद सम्हाल्नेबित्तिकै पश्चिम एशियाली मुलुक (खाडी क्षेत्र) को द्वन्द्वले नयाँ चुनौती थपेको सन्दर्भ उल्लेख गरेका छन्।

त्यहाँ रहेका नेपाली कामदारको सुरक्षालाई पहिलो प्राथमिकता दिने उनको स्पष्ट अडान छ। उनका अनुसार, ८० हजारभन्दा बढी नेपालीले सहायताका लागि नाम दर्ता गराएका छन्। ‘यदि असुरक्षित महसुस भयो भने आवश्यक कूटनीतिक पहल र कदम चालिन्छु’ उनले भनेका छन्।

साथै, इन्धन आपूर्ति र मूल्यमा पर्न सक्ने असरबारे अध्ययन भइरहेको जानकारी पनि दिए।

यो कदमले परराष्ट्र मन्त्रालयको भूमिका अब केवल संवादमा सीमित नभएर व्यावहारिक संकट व्यवस्थापनसम्म गम्भीर रुपमा अघि बढ्ने देखिन्छ। उनले आफ्नो यो जिम्मेवारीलाई अवसर र परीक्षा दुवैको रुपमा लिएको बताएका छन्।

उनले आफ्नो सुरुवातमा स्पष्ट प्रतिबद्धता, नीतिगत स्पष्टता र व्यावहारिक योजना सुनाएका छन्। सन्तुलित कूटनीति, स्थिर नीति, डिजिटल सुधार र आर्थिक कूटनीतिमा उनको जोडले नयाँ ढाँचाको संकेत गर्छ। तर उनले कर्मचारीको अलमलमा पर्ने, दू्तावासको अवस्था ननियाल्ने र खर्च कटौतीमा नलाग्ने हो भने यी सबै कुरा फजुल हुनेछन्। उनले जसरी कन्सुलरलाई डिजिटल सेवामा लैजने भने त्यसैगरी राहदानीतर्फ पनि केन्द्रित हुनुपर्ने देखिन्छ।

उनले आफ्ना बाचा राष्ट्रिय हितमा उतार्न सके भने नेपालको परराष्ट्र नीतिले नयाँ उचाइ लिन सक्छ। तर कूटनीति घोषणामा होइन, निरन्तर अभ्यास र परिणाममा मूल्यांकन हुने क्षेत्र हो। त्यसैले खनालका लागि यो विश्वास जोगाउने र नयाँ मानक स्थापित गर्ने परीक्षा पनि हो। नेपाली नागरिकले अब उनको कार्यकालबाट ठोस परिणामको अपेक्षा गरेका छन्।

प्रकाशित: १३ चैत २०८२ १६:४८ | Friday, March 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast