काठमाडौँ- सुनसरीको दुहवी नगरपालिकामा आधुनिक फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण हुने भएको छ। भारत सरकारको सहयोगमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण हुन लागेको हो।
आइतबार दुहवीमा आयोजित एक कार्यक्रमका बीच भारतीय राजदूतवासका प्रथम सचिव नारायण सिंह र दुहवी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले संयुक्त रूपमा केन्द्रको शिलान्यास गरेका छन्।
‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ अन्तर्गत भारत सरकारको करिब १६ करोड ४० लाख नेपाली रूपैयाँको आर्थिक सहयोगमा फोहोरमैला केन्द्र निर्माण हुन लागेको काठमाडौँस्थित भारतीय दूतावासले जनाएको छ।
दुहवी नगरपालिका–४ मा निर्माण हुने यो आयोजना नगरपालिका आफैँले कार्यान्वयन गर्नेछ।
शिलान्यास कार्यक्रममा बोल्दै मेयर गच्छदारले भारत सरकारको विकास सहयोगप्रति आभार व्यक्त गरे। उनले यो केन्द्र निर्माणसँगै दुहवी नगरपालिकामा वर्षौँदेखि देखिएको फोहोर व्यवस्थापनको समस्या हल हुने विश्वास व्यक्त गरे।
भारत सरकारले नेपालका प्राथमिक क्षेत्रहरूमा पूर्वाधार विकास गरी समृद्धिको यात्रामा सघाउने नीति अनुरूप यो परियोजना अघि बढाएको दूतावासले जनाएको छ।




