काठमाडौँ- बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान केन्द्र प्रवेश गर्न सकिने निर्वाचन आयोगले स्पष्ट पारेको छ।
मतदाता परिचयपत्रको सक्कलप्रति नभएमा नेपाली नागरिकता, सवारी चालक अनुमतिपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र वा जग्गा धनी प्रमाण पुर्जामध्ये एक कागजातको सक्कलप्रति बोेकेर मतदान केन्द्र जान सकिने आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए। आयोगले तोकेका ६ प्रकारका कागजातमध्ये कुनै एक अनिवार्य लिएर मतदान केन्द्र गएमा मतदान गर्न सकिने उनले स्पष्ट पारे।
भोलि (बिहीबार) हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र छन् भने १४३ अस्थायी मतदानस्थल छन्। ती केन्द्रमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाताले मतदान गर्ने आयोगले जनाएको छ।





