चैत ५ गतेदेखि १९ सम्म कसरामा विक्रमबाबा पूजापाठ हुने

हिमाल प्रेस ३ चैत २०८२ ८:५७ | Tuesday, March 17, 2026
10
SHARES
चैत ५ गतेदेखि १९ सम्म कसरामा विक्रमबाबा पूजापाठ हुने

चितवन- हरेक वर्ष चैतेदसैँको समयमा हुने विक्रमबाबा पूजाको चितवनमा तयारी सुरुवात गरिएको छ। यस वर्ष चैत ५ गते देखि १९ गतेसम्म पूजा गर्ने तयारी गरिएको हो। चितवन राष्ट्रिय निकुञ्जको कसरामा विक्रमबाबा पूजास्थल रहेको छ।

राप्ती पुलबाट करिब दुई किलोमिटर निकुञ्जभित्र विक्रमबाबाको दर्शन तथा पूजापाठ गर्ने गरिन्छ। यो पूजा विशेषगरी थारू जातिमा प्रचलनमा रहेको छ। विक्रमबाबाको पूजा परापूर्वकालदेखि थारू जातिले गर्ने भए पनि पछिल्लो समय सबै समुदायले पूजा गर्ने गर्छन्। सन्तान प्राप्ति र सुखलगायत मनोकांक्षा पूरा हुने विश्वासका साथ विक्रमबाबाको पूजा गर्ने गरिएको पाइन्छ।

भरतपुर महानगरपालिका–२३ संरक्षक रहनेगरी मेलाको व्यवस्थापन गर्न लागिएको हो। वडाध्यक्ष दीपक दवाडीका अनुसार पूजा व्यवस्थापन, सरसफाइ, प्रदर्शनीकक्ष व्यवस्थापन, स्वास्थ्य समिति गठन गरेर काम गरिएको छ । उनले भने, ‘अहिले पूजा गर्ने मन्दिर सरसफाइ, सडक मर्मत र सरसफाइलगायतका काम भइरहेको छ।’

पूजा व्यवस्थापनका लागि केरुंगा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष लालबहादुर दवाडीको संयोजकत्वमा काम सुरु गरिएको छ। यसमा पटिहानी मध्यवर्ती उपभोक्ता समिति सदस्य रहने व्यवस्था गरिएको छ । यस्तै, निकुञ्ज, नेपाली सेना, घैलाघारी सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधिसमेत रहने व्यवस्था गरिएको उनले जानकारी दिए।

सामुदायिक वन क्षेत्रमा २५० वटा प्रदर्शनीकक्ष निर्माण गरी वितरण गरिने उनले बताए। सरसफाइ, खानेपानी, हेल्प डेक्स, दमकल एम्बुलेन्स र पानीट्यांकीको व्यवस्था गरिने छ। विगत वर्षलाई हेर्दा यस वर्ष पनि छ लाखभन्दा बढी भक्तजन मेला भर्न आउने अनुमान गरिएको छ । पूजा गर्नका लागि बिहान ६ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म निकुञ्जमा प्रवेश खुला गरिनेछ भने निकुञ्ज बाहिर मेला बिहान ५ः०० बजेदेखि साँझ ८ः०० बजेसम्म सञ्चालन गरिने छ।

मेला र पूजाको सुरक्षा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीबीच समन्वयमा गरिने छ। पुलमा भक्तजनहरूको भीड नियन्त्रणका लागि नगरप्रहरीले लाइन व्यवस्थापनको काम गर्ने छ। रासस

प्रकाशित: ३ चैत २०८२ ८:५७ | Tuesday, March 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast