काठमाडौँ- नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले अबको एमाले ‘बन्द कोठा’ को षड्यन्त्र वा केही सीमित व्यक्तिको क्याल्कुलेसनबाट नभई आम कार्यकर्ताको भावना र आधुनिक कार्य पद्धतिबाट चल्नुपर्ने बताएका छन् । मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमा नेतृत्वप्रति लक्षित गर्दै पाण्डेले यस्तो बताएका हुन्।
आफूहरूले पार्टीका आधिकारिक फोरम र बैठकहरूमा पटक–पटक सुधारका ठोस मार्गचित्र प्रस्तुत गर्दै गल्तीहरू औँल्याउँदा ती आवाजहरूलाई गम्भीरतापूर्वक सुन्नु र छलफल गर्नुको साटो ‘नोट अफ डिसेन्ट’ को एउटा कुनामा मात्र सीमित गरिएको उनले बताए ।
बैठक सुन्ने र सुध्रिने थलो नभई सुनाउने र ‘हुकुम’ दिने औपचारिकता बन्दा विवेकको मृत्यु हुने र अहंकारले ठाउँ पाउने समेत उनले बताए ।
उनले भने,‘पार्टीका कुरा बैठकमा गर्ने कि सामाजिक सञ्जालमा? यो जायज प्रश्न हो। हामीले पार्टीका आधिकारिक फोरम र बैठकहरूमा पटक–पटक सुधारका ठोस मार्गचित्र प्रस्तुत गर्यौँ र गल्तीहरू औँल्यायौँ। ती आवाजहरूलाई गम्भीरतापूर्वक सुन्नु र छलफल गर्नुको साटो नोट अफ डिसेन्टको एउटा कुनामा मात्र सीमित गरियो। जब बैठक सुन्ने र सुध्रिने थलो होइन, केवल सुनाउने र हुकुम दिने औपचारिकता मात्र बन्छ, तब त्यहाँ विवेकको मृत्यु हुन्छ र अहङ्कारले ठाउँ पाउँछ ।’




