अध्यक्ष ओली पक्राउ विरोधमा एमाले सचिवालय बैठकले गर्‍यो ९ निर्णय

हिमाल प्रेस १७ चैत २०८२ १५:५६ | Tuesday, March 31, 2026
40
SHARES
अध्यक्ष ओली पक्राउ विरोधमा एमाले सचिवालय बैठकले गर्‍यो ९ निर्णय

काठमाडौँ- नेकपा एमालेको सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा विभिन्न ९ वटा निर्णयहरू गरेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बसेको बैठकले सरकारविरुद्ध पालिका तहसम्म भेला तथा प्रदर्शन गर्ने निर्णय गरेको हो।

एमाले सचिव महेश बस्नेतले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्, ‘पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली तथा पूर्वगृहमन्त्री रमेश लेखकको प्रतिशोधपूर्ण र बदला प्रेरित गिरफ्तारीविरुद्ध भएको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले प्रहरीमार्फत गरेको दमनको घोर भर्त्सना गर्दै नेकपा (एमाले) सचिवालय बैठकले कार्यक्रमहरू तय गरेको छ।’

सचिवालय बैठकले यही चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलन केन्द्रित बृहत् भेला गर्ने, चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन गर्ने, वैशाख ३ गते वडा तहमा भेला गर्ने, वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन गर्ने, वैशाख १२ गते राजधानीमा विशाल विरोध प्रदर्शन गर्ने निर्णयहरू गरेको छ।

त्यस्तै सरकारले विद्यार्थी तथा पेसागत संगठनहरूसम्बन्धी गरिएका गतिविधिहरूका विषयसमेत समेटेर सबै जनसंगठनहरूले आआफ्नो ढंगले आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै पार्टीद्वारा घोषित आन्दोलनलाई प्रभावकारी बनाउन सहयोग निर्णय पनि बैठकले गरेको छ।

साथै भोलि बुधबार ११ बजे जनसंगठन संयन्त्रको बैठक पार्टी कार्यालयमा बस्ने गरी बोलाइएको छ। बैठकले सर्वपक्षीय नागरिक संवादका लागि उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीनबहादुर शाहीलाई जिम्मेवारी दिएको छ।

संसद्भित्र दलहरूसँग सहकार्य र प्रभावकारी प्रस्तुति गर्ने जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा बादल र सचिव पद्मा अर्याललाई दिइएको सचिव बस्नेतले बताए।

उनले भोलि ३ बजे संसदीय दलको बैठक पार्टी कार्यालयमा बस्ने र आन्दोलनका थप कार्यक्रम तय गर्न तत्कालै पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरिएको पनि बताए।

प्रकाशित: १७ चैत २०८२ १५:५६ | Tuesday, March 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast