काठमाडौँ- नेपाल प्रहरीले एक करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँको नागार्जुन नगरपालिका-८, भीमढुंगाबाट हुण्डीको रकमसहित यहाँको नागार्जुन नगरपालिका-८, भीमढुंगाका २८ वर्षीय सागर गिरी र सोही स्थानका २८ वर्षीय प्रमोदप्रसाद धिताललाई पक्राउ गरी आज (सोमबार) सार्वजनिक गरेको हो।
परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले अभौतिक मुद्राको कारोबार गरिरहेको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेकासँग तीन थान चेकबुक, विभिन्न व्यक्तिको नाममा काटेको २७ लाख ३० हजार चेक, विभिन्न बैंकका एटीएम चार थान, नागरिकता एक थान, चारपाङ्ग्रे सवारीसाधन दुई थान, दुईपाङ्ग्रे सवारीसाधन एक थान, सवारी दर्ता किताब तीन थान बरामद गरिएको उनले बताए।
यसै गरी विभिन्न कम्पनीका मोबाइल छ थान, एनसेल, एनटीसीको सिम ३१ थान, कम्प्युटर एक थान बरामद गरिएको छ। पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले जानकारी दिए।





