फाइल तस्बिर
काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू अमेरिका, इजरायल र इरानबीच युद्धविरामका पक्षमा नरहेको बताएका छन्। उनले पत्रकारसँग यस्तो प्रतिक्रिया दिएको अमेरकी सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
‘हामी संवाद गर्न सक्छौँ, तर गरिरहेका छैनौँ’, उनले भने- ‘म युद्धविराम गर्न चाहन्नँ। जब तपाईं शाब्दिक रूपमा अर्को पक्षलाई पूर्ण रूपमा ध्वस्त पारिरहनुभएको हुन्छ, त्यतिबेला युद्धविराम गरिँदैन।’ यद्यपि उनले इरानविरुद्ध अमेरिकाले सञ्चालन गरिरहेको सैन्य अभियान क्रमशः घटाउँदै लैजाने विषयमा विचार गरिरहेको बताए।
ट्रम्पले इजरायल पनि आफू तयार भएपछि युद्ध अन्त्य गर्न तयार हुने बताए। अमेरिकाले युद्ध अन्त्य गर्न चाहँदा इजरायल पनि द्वन्द्व अन्त्य गर्न तयार हुन्छ कि हुँदैन भन्ने प्रश्नमा ट्रम्पले भने- ‘मलाई लाग्छ, हुन्छ।’ उनले दुवै सहयोगीबीचको सम्बन्ध अत्यन्त राम्रो रहेको बताए।
गत साता अमेरिकाले आक्रमण गरेको इरानको महत्त्वपूर्ण तेल निर्यात केन्द्र खार्ग टापुसम्बन्धी योजनाबारे ट्रम्पले केही खुलाउन चाहेनन्। ‘मसँग योजना हुन सक्छ वा नहुन पनि सक्छ, तर म त्यो कुरा पत्रकारलाई कसरी भनूँ?’ उनले भने।
राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धको तेस्रो साता बिताउँ संकटको सामना गरिरहेका छन्। विश्वव्यापी ऊर्जा मूल्य तीव्र रूपमा बढिरहेका छन्। अमेरिका आफ्ना सहयोगीहरूबाट अलगिएको छ। युद्ध छोटो अभियान मात्र हुने उनको बाचाविपरीत थप सैनिक परिचालनको तयारी भइरहेको छ।
रक्षात्मक अवस्थामा देखिएका ट्रम्पले होर्मुज क्षेत्र सुरक्षित गर्न सहयोग नगरेको भन्दै नाटोका अन्य देशहरूलाई डरपोकको आरोप लगाएका छन्। उनले युद्ध सैन्य रूपमा जितिसकिएको घोषणा गरे पनि त्यो भनाइ वास्तविकतासँग मेल खाँदैन, किनभने इरानले अझै अवज्ञापूर्ण रूपमा खाडी क्षेत्रको तेल र ग्यास आपूर्ति अवरुद्ध पारिरहेको छ भने पश्चिम एसियामा मिसाइल आक्रमण जारी राखेको छ।
यसैबीच पेन्टागनले इरानविरुद्धको युद्धका लागि आफ्नो सैन्य शक्ति थप सुदृढ पार्दै पश्चिम एसियातर्फ तीनवटा युद्धपोतमार्फत थप हजारौँ सैनिक पठाउने आदेश दिएको छ। उता ऊर्जाको मूल्य तीव्र रूपमा बढ्दै गइरहेको अवस्थालाई नियन्त्रणमा राख्न अमेरिकाले समुद्रमा रोकिएका इरानी तेल किन्ने अनुमति अन्य देशहरूलाई दिने निर्णय गरेको छ।
तेलको मूल्य वृद्धि र ब्याजदर बढ्ने सम्भावनाले लगानीकर्तालाई त्रसित बनाएपछि शुक्रबार एस एन्ड पी ५०० सूचकांक १.५ प्रतिशतले घटेर बन्द भएको छ। यो लगातार चौथो साता गिरावटमा रहेको हो।
ब्रेन्ट कच्चा तेलको मूल्य शुक्रबार प्रति ब्यारेल ३.३ प्रतिशतले बढेर ११२.१९ डलर पुगेको छ, जुन लगातार पाँचौँ साप्ताहिक वृद्धि हो।
यसैगरी आयतोल्लाह मोज्तबा खामेनीले पर्सियन नयाँ वर्षको अवसरमा अर्को लिखित वक्तव्य जारी गर्दै आफ्ना स्वर्गीय पिताको हत्या हुँदा इरान ढल्छ भन्ने अमेरिका र इजरायलको भ्रमको कडा आलोचना गरेका छन्।




