फाइल तस्बिर
काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध ऊर्जा संरचनामा गर्ने भनिएको सैन्य आक्रमण थप १० दिनका लागि स्थगित गरिएको घोषणा गरेका छन्।
उनका अनुसार इरानसँग वार्ता जारी रहेकाले आक्रमणको निर्णय केही समयका लागि पछि सारिएको हो। उनले यो जानकारी आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत सार्वजनिक गरेका हुन्।
ट्रम्पले यसअघि इरानलाई स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खुला गर्न ४८ घण्टाको अल्टिमेटम दिएका थिए। सो समयसीमा सकिएपछि पनि इरानले मार्ग नखोलेमा विद्युत उत्पादन गर्ने ऊर्जा केन्द्रहरूमा प्रहार गर्ने चेतावनी दिएका थिए। पछिल्लो निर्णयअनुसार सम्भावित आक्रमणको समयसीमा अप्रिल पहिलो सातासम्म लम्ब्याइएको छ।
यसबीच, इरानले आक्रमण भएमा पश्चिम एसियाका विभिन्न पूर्वाधारमा प्रतिकार गर्ने चेतावनी दिएको छ। वार्तालाई अघि बढाउन पाकिस्तानका अधिकारीहरूले मध्यस्थकर्ताको भूमिका निभाइरहेका छन्। ट्रम्पले वार्ता सकारात्मक दिशामा अघि बढिरहेको संकेत पनि दिएका छन्।
पश्चिम एसिया हेर्ने ट्रम्पका विशेष दूत स्टीभ विटकोफ मार्फत पाकिस्तानमार्फत इरानलाई १५ बुँदे युद्धविराम प्रस्ताव पठाइएको बताइएको छ।
उक्त प्रस्तावमा इरानले कहिल्यै परमाणु हतियार नबनाउने, फर्दो, नतान्ज र इस्फहानका प्रमुख परमाणु भट्टीहरू बन्द गर्ने, समृद्ध युरेनियम अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीलाई बुझाउने लगायतका सर्त समावेश छन्।
त्यसैगरी, इरानको ब्यालिस्टिक मिसाइल कार्यक्रम सीमित गर्ने, स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खुला राख्ने, तथा क्षेत्रीय सशस्त्र समूहहरूलाई समर्थन बन्द गर्ने जस्ता सर्त पनि प्रस्तावमा छन्।
प्रस्ताव स्वीकार भएमा इरानमाथिका अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउने र नागरिक परमाणु कार्यक्रमलाई सहयोग गर्ने आश्वासन पनि दिइएको छ।
तर इरानले उक्त प्रस्ताव अस्वीकार गर्दै काउन्टर प्रस्ताव अघि सारेको छ। इरानले अमेरिकाले फेरि आक्रमण नगर्ने ग्यारेन्टी, अघिल्ला आक्रमणको क्षतिपूर्ति, मध्यपूर्वमा रहेका अमेरिकी सेना फिर्ता तथा स्ट्रेट अफ हर्मुज प्रयोग गर्दा शुल्क लिने जस्ता सर्त राखेको बताइएको छ।
इजरायलले हिजबुल्लाहविरुद्धको कारबाही रोक्नुपर्ने र इरानले आफ्नो मिसाइल कार्यक्रम स्वतन्त्र रूपमा सञ्चालन गर्न पाउनुपर्ने माग पनि गरिएको छ।
यसबीच वार्ता प्रक्रिया जारी रहे पनि इरान अमेरिकी पक्षप्रति सशंकित देखिएको छ। अघिल्ला वार्ताका क्रममा आक्रमण भएको अनुभवका कारण इरानले पुनः छल हुन सक्ने आशंका व्यक्त गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।




