सांकेतिक तस्बिर
काठमाडौँ- अनुवादक समाज नेपालद्वारा आयोजित ‘अनुवाद विमर्श’ को तेस्रो शृंखलामा वक्ताले नेपाली अनुवाद साहित्यको गम्भीरता र इमानदारीमाथि चर्चा गरेका छन्। समाजका अध्यक्ष डा. बलराम अधिकारीको अध्यक्षतामा शनिबार सम्पन्न भर्चुअल कार्यक्रममा मुख्य वक्ताका रूपमा प्रस्तुत भएका कवि तथा अनुवादक अभय श्रेष्ठले अनुवादलाई भाषाको रूपान्तरण नभई एक कठिन प्राज्ञिक तपस्याका रूपमा व्याख्या गरे।
‘अनुवाद: अनुभूति र दृष्टिकोण’ विषयमा अनुभव बाँड्दै श्रेष्ठले नेपाली अनुवाद क्षेत्रमा देखिने गरेका केही विसंगतिप्रति कडा टिप्पणी गरे। उनले कतिपय अनुवादकले अर्कै भाषा (जस्तै हिन्दी) को अनुवादलाई आधार बनाएर मूल भाषाबाटै अनुवाद गरेको दाबी गर्ने गरेको र त्यसले पाठकलाई भ्रममा पारेको बताए । ‘यस्तो प्रवृत्ति अनुवादको धर्म र इमानदारीविपरीत छ,’ श्रेष्ठले भने।
पाब्लो नेरुदादेखि मोपासाँसम्मका विश्वप्रसिद्ध लेखकका कृतिलाई नेपालीमा उतारेका श्रेष्ठले कविता अनुवादको मर्मबारे प्रकाश पारे। उनका अनुसार कविता अनुवाद गर्दा शब्द मात्र नभई त्यसभित्रको ‘आन्तरिक लय’ पकड्न सक्नु नै सबैभन्दा ठूलो चुनौती र सफलता हो।
ग्याब्रियल गार्सिया मार्खेजका लामा र पेचिला वाक्यहरूलाई नेपाली पाठकले बुझ्ने गरी सरल ढंगले प्रस्तुत गर्दाका आफ्ना प्रयोगात्मक अनुभव पनि उनले सो अवसरमा सुनाएका थिए ।
प्रश्नोत्तरसत्रका क्रममा उनले फ्रान्सेली लेखक मोपासाँको चर्चित कथा ‘नेकलेस’को अनुवाद प्रक्रियाबारे प्रस्ट पारे। फ्रान्सेली समाज र विश्वव्यापी मानवीय स्वभावलाई नेपाली परिवेशमा दुरुस्त उतार्नु आफ्नो मुख्य ध्येय रहेको उनको भनाइ थियो।
सो क्रममा उनले नेपाल प्रज्ञा प्रतिष्ठान जस्ता सरकारी निकायले अनुवादको गुणस्तर सुधार्न विशेष कार्यशालाहरू चलाउनुपर्ने आवश्यकता औँल्याए ।
कार्यक्रमको अन्त्यमा श्रेष्ठलाई उनको साहित्यिक र अनुवादकीय योगदानको कदर गर्दै समाजका तर्फबाट ‘डिजिटल प्रशंसा-पत्र’ प्रदान गरियो। चन्द्रबहादुर लामाले सञ्चालन गरेको उक्त कार्यक्रम समापनपछि अध्यक्ष डा. बलराम अधिकारीले आगामी दिनमा समाजले अझ बढी प्राज्ञिक व्यक्तित्व, स्थापित साहित्यकार र दक्ष अनुवादकहरूलाई समेटेर यस्ता विमर्शलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।




