काठमाडौँ- चुनावका कारण फिल्मी गतिविधि प्रायः शून्य रहेका समयमा फिल्म ‘लालिमा’ ट्रेलर सार्वजनिक भएको छ।
ट्रेलरमा फिल्मकी मुख्य कलाकार रोशनी केन्द्रमा छिन्। उनलाई स्पष्ट रुपमा यौनकर्मीको चरित्र र उनको प्रेमसम्बन्धलाई पनि देखाएको छ।
यौनकर्ममा लागेकी ‘लालिमा’को जीवनमा आउने उत्तारचढावको कथामा ट्रेलरले संकेत गरेको छ। अन्तिममा लालिमा मानसिक समस्यामा परेको देखाइएको छ।
अर्की कलाकार उषा रजक फरक क्षमताकी (बोल्न नसक्ने) महिलाको भूमिकामा देखिएकी छन्। फिल्ममा लालिमाकी आमाको भूमिकामा उषा रहेको निर्माण पक्षले बताएको छ।
फिल्मबारे कलाकार रोशनीले भनिन्, ‘हाम्रो फिल्मले देखाउने खोजेको विषय नै यौनकर्मीहरूको मानसिक समस्या हो। पृष्ठभूमि, बाध्यता, मनोदशा र कठिनाइका कारण उनीहरू कस्तो मानसिक अवस्थामा पुग्छन् भन्ने पक्ष पनि समेटिएको छ।’
ओएसआर डिजिटल युट्युब च्यानलबाट शनिबार सार्वजनिक ट्रेलर मुभि चार्टको ट्रेन्डिङ ४ मा परेको छ।
फिल्मका लेखक तथा निर्देशक रोशन मिराज हुन्। फिल्मको कथा यौनकर्मीहरूको वास्तविक कथामा आधारित छ। फिल्मको मुख्य भूमिकामा रोशनी कार्की छिन्।
साथै फिल्ममा रोशनी र उषालगायत जीवन भट्टराई, सुष्मा निरौला, घनश्याम जोशी, सबिन कट्टेल र शिशिर वाङ्देललगायतले अभिनय गरेका छन्। अन्तर्राष्ट्रिय महिला दिवसको दिन पारेर फिल्म फागुन २९ मा प्रदर्शन हुँदैछ।
फेथ आस्थाको प्रस्तुतिमा बनेको फिल्मकी कार्यकारी निर्माता रीना लामा हुन्। फिल्म नेसनल सिने ग्रुप नेपालले वितरण गर्दैछ।





