सहरमा आज : ‘चरणदास चोर’ मञ्चनदेखि फ्लोरा एक्स्पो मेलासम्म, हलमा ‘धुरन्धर : द रिभेन्ज’ को दबदबा

सुस्मिता बजगाईं ७ चैत २०८२ ७:२३ | Saturday, March 21, 2026
2
SHARE
सहरमा आज : ‘चरणदास चोर’ मञ्चनदेखि फ्लोरा एक्स्पो मेलासम्म, हलमा ‘धुरन्धर : द रिभेन्ज’ को दबदबा

काठमाडौँ- चैतको आज पहिलो शनिबार। यो वर्षको अन्तिम महिना पनि हो। विगत केही समयदेखि हामीले साताको शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरूकाे केही विस्तृत जानकारीसहित समेट्दै आइरहेका छाैँ। कला तथा साहित्यप्रेमी दर्शकका लागि बिदाको दिनको सदुपयोग गर्ने र केही सिक्ने मौका मिल्न सक्छ। याे साता कहाँ केके हुँदैछ? हेराैं,

ओम रिजालको उपन्यास ‘पैकेलो’ विमोचन

आज ओम रिजालको उपन्यास ‘पैकेलो’ विमोचन हुँदैछ। पुस्तक कालिकास्थानस्थित नेपालय आर सालामा बिहान ९ बजे सुरु हुनेछ। पुस्तक नेपालय पब्लिकेसनले प्रकाशन गरेको हो।

भृकुटीमण्डपमा २७ औं फ्लोरा एक्स्पो मेला

भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा चैत ४ देखि २७ औं फ्लोरा एक्स्पो मेला चलिरहेको छ। प्रदर्शनीमा विभिन्न प्रकारका फूल तथा फूलजन्य सामग्रीहरु राखिएको छ। ‘स्वच्छ वातावरण, रोजगारी र आर्थिक समृधिका लागि पुष्प व्यावसाय’ भन्ने नारा रहेको प्रदर्शनी भोलि अर्थात् चैत ८ सम्म चल्नेछ। व्यावसायिक, अफिसियल, प्रतिस्पर्धात्मक, फूड, ल्यान्डस्केपलगायतका प्रदर्शनीमा ८२ स्टल राखिएको छ। पुष्प व्यावसाय प्रवद्र्दन गर्ने उद्देश्यले फ्लोरिकल्चर एसोसियसन नेपाल (फ्यान) ले वर्षेनी फ्लोरा एक्स्पो मेला आयोजना गर्दै आइरहेको छ।

मण्डला थिएटरमा ‘चरणदास चोर’

थापागाउँस्थित मण्डला थिएटरमा फागुन २८ देखि नाटक ‘चरणदास चोर’ मञ्चन भइरहेको छ। मिलन कार्कीको निर्देशनमा बनेको नाटकका लेखक भारतीय नाटककार हबीब तनबीर हुन्। नाटकको नेपाली अनुवाद आशान्त शर्मा र राजन खतिवडाले गरेका हुन्।

नाटकमा एक चलाख तर इमान्दार चोरको कथा प्रस्तुत गरिएको छ। चरणदास नामक चोर एक आध्यात्मिक गुरुसँग भेटेपछि सधैँ सत्य बोल्ने प्रतिज्ञा गर्छ र आफ्नो बाँचा पालना गर्ने क्रममा उ विभिन्न नैतिक द्वन्द्वको परिस्थितिमा फस्छ। त्यही परिवन्धमा परेको चरणदासमार्फत नाटकले समाजका मानिसले गर्ने भ्रष्टाचार र शक्तिको दुरुपयोगलाई हास्य र लोकशैलीको संगीतमार्फ त मनोरञ्जन तरिकाले प्रस्तुत गरेको छ।

चैत ११ सम्म मञ्चन हुने नाटकमा विश्वराज विक, विनय पन्त, विनिता गिरी, रिजन थिङ लामा, अनुष्का कार्की, प्रबल जोशी, जितन राई, मणिराज घले, सक्षम कोइरालालगायत कलाकारले अभिनय गरेका छन्। यी सबै पात्र मण्डला थिएटर ल्याब १८ औं ब्याचका विद्यार्थी हुन्।

धुरन्धर : द रिभेन्ज

बलिउड फिल्म ‘धुरन्धर : द रिभेन्ज’ चैत ५ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक आदित्य धर हुन्। ‘धुरन्धर’का अपार सफलतापछि निर्माण टिमले त्यसैको सिक्वेल प्रदर्शन गरे। सिक्वेललाई पनि दर्शकले अत्याधिक रुचाएका छन्। नेपालका सबै हलमा ‘धुरन्धर : द रिभेन्ज’ कै दबदबा छ। फिल्मले बिहानदेखि मध्यरातिसम्म सो पाएको छ।

क्यूएफएक्स सिनेमाज अन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, लबिम मल, सिटी स्क्वायर मल, सिभिल मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर, दरबार सिनेम्याक्समा फिल्मको ७० सो छ। आइएनआई सिनेमा अन्तर्गत एनबी सेन्टर, लोत्से मल र विश्वज्योति मलमा फिल्मको २० र वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टरमा फिल्मको १९ सोसहित चलिरहेको छ। त्यस्तै, बिग मुभिजमा १२ सो, एफक्युब सिनेमाजमा १० सो, रञ्जना सिनेप्लेक्समा ९ सो, बिएसआर मुभिज र कीर्तिपुर सिनेप्लेक्समा ६/६ सो गरी उपत्यकाका सबै हल ‘धुरन्धर : द रिभेन्ज’ मय भएको छ।

फिल्ममा रणवीर सिंह मुख्य भूमिकामा छन्। उनीसँगै आर माधवन, अर्जुन रामपाल, संजय दत्त, सारा अर्जुनलगायत कलाकारले अभिनय गरेका छन्। फिल्ममा अघिल्लो भागलाई निरन्तरता दिँदै एक हिन्दुस्तानीको पाकिस्तानी ग्याङस्टासँगको बदलाको कथा देखाइएको छ। भारतीय जासुसको रुपमा पाकिस्तान पुगेका एक पात्रको संघर्ष, उसले भोग्ने चुनौतीलाई फिल्मको कथामा प्रस्तुत गरिएको छ।

प्रोजेक्ट हेल मेरी

‘धुरन्धर : द रिभेन्ज’ कै दबदबाबीच चैत ६ देखि नेपालमा हलिउड फिल्म ‘प्रोजेक्ट हेल मेरी’ प्रदर्शन भइरहेको छ। ड्रामा र थ्रिलर जनरामा बनेको फिल्मले हलमा न्यून सोसहित चलिरहेको छ।

क्युएफएक्स सिनेमाज अन्तर्गत शनिबार राइजिङ मल, छाया सेन्टर, भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स, सिभिल मल, सिटी स्क्वायर मलमा फिल्मको सो छ। त्यस्तै आइएनआई सिनेमा अन्तर्गत एनबी सेन्टर र विश्वज्योति मल, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल, बिग मुभिज, एफक्युब सिनेमाज, बिएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्स र रञ्जना सिनेप्लेक्समा फिल्मले जम्मा एक/एक सोसहित चलिरहेको छ।

फिल्मका निर्देशक फिल लर्ड क्रिस्टोफर मिलर हुन्। फिल्ममा रायन गोस्लिङ्ग, मिलाना वेनट्रब, सान्ड्रा हलरलगायत कलाकारको अभिनय छ।

एकल नेपाली फिल्म ‘आ बाट आमा’ 

दुई विदेशी फिल्मसहित हलमा नेपाली फिल्म ‘आ बाट आमा’ एकल प्रदर्शन भइरहेकाे छ। गत माघ १६ देखि प्रदर्शनरत फिल्मले केही हलमा एकल सो पाएकाे छ।

शनिबार भने आइएनआई सिनेमा अन्तर्गत शनिबार लोत्से मल र विश्वज्योति मल, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल, बिग मुभिज, एफक्युब सिनेमाज, बिएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्स, रञ्जना सिनेप्लेक्सको एक/एक सो छ।

फिल्म निर्माण टिमले आइतबार फिल्म प्रदर्शनको ५१ दिन मनाउने तयारीसमेत गरेको छ। फिल्मका निर्देशक चन्द्र पन्त हुन्। फिल्ममा भारतीय कलाकार प्रदीप रावत, अभिनेत्री विपना थापा र पल शाह मुख्य भूमिकामा छन्।

आमाको कथामा बनेको फिल्मले अहिलेसम्म १३ करोड व्यापार गरिसकेको छ। योसँगै यसवर्षको सर्वाधिक व्यापार गर्ने दोस्रो फिल्म बनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast