काठमाडौँ- नेपालमा अप्रत्यक्षरूपमा राजनीतितिर चासो राख्ने कलाकार थुप्रै छन्। तर प्रत्यक्षरूपमा भने उनीहरू अगाडि आउने आँट कमै गरेको देखिन्छ।
यसपटक भएको प्रतिनिधिसभा निर्वाचनमा कला क्षेत्रका केही सेलिब्रेटी चुनावमा होमिए। कोही प्रत्यक्षमा त कोही समानुपातिकको क्लस्टरतर्फ उम्मेदवार बने।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पवा) बाट समानुपतिक सूचीबाट पूर्वमिस नेपाल अनुष्का श्रेष्ठ र अभिनेत्री तथा कार्यक्रम सञ्चालिका रीमा विश्वकर्मा निर्वाचित भएका छन्।
र्यापरबाट मेयर हुँदै प्रधानमन्त्री बन्दै बालेन
रास्वपाका वरिष्ठ नेता (बालेन्द्र शाह बालेन) चर्चित र्यापर हुन्। उनी झापा ५ बाट प्रत्यक्ष निर्वाचित सांसद बनेका छन्। झापा ५ मा उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हराएर निर्वाचित बनेका हुन्।
अब उनी प्रधानमन्त्री बन्ने तयारीमा छन्। र्यापको दुनियाँमा रमाइरहेका बालेन २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका थिए। काठमाडौँमा जन्मिएका बालेनले काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिए। त्यसबेला पनि उनले पुराना राजनीतिक दललाई हराएर मेयर बन्न सफल भएका थिए।
इन्जिनियरसमेत रहेका बालेनले मेयर बनेसँगै काठमाडौँ महानगरको फोहोर व्यवस्थापन, अव्यवस्थित संरचना हटाउने, सार्वजनिक शौचालयको व्यवस्थालगायतका कामलाई बढी प्राथमिकता दिएका थिए। संगीतबाट राजनीतिमा उदाएकाले अहिले उनको चर्चा विश्वभर छरिएको छ।
र्यापर बालेनले गाएको ‘आम नेपाली बुबा’, ‘नेपाल हाँसेको’, ‘बलिदान’, ‘मार्फाको मदिरा’, ‘गोर्खाली तोप’, ‘लोकल ठिटो’ ‘सडक बालक’, ‘अतितका सम्झना’ लगायत थुप्रै गीत हिट छन्।
गीतमा उनले नेतालाई प्रहार गर्नुका साथै देशमा भइरहेको भ्रष्टाचार, युवाको आवाज र सामाजिक तथा समसामयिक विषयलाइ प्राथमिकता दिएका छन्।
मिस नेपालदेखि संसद् यात्रामा अनुष्का
अनुष्का आदिवासी जनजाति क्लस्टर (महिला) बाट समानुपातिक सांसद बनेकी हुन्। उनले सन् २०१९ मा मिस नेपालको उपाधि जितेकी थिइन्। योसँगै उनले ‘मिस वर्ल्ड’ मा ‘ब्युटी विथ पर्पस’ र मल्टिमिडिया अवार्ड जितेकी थिइन्। मिस नेपालको इतिहासमा नै अनुष्का पहिलोपटक सांसद बन्दैछिन्।
मिस नेपाल बनेसँगै अनुष्का व्यवसाय गर्नतर्फ लागिन्। पछिल्लो समय उनी डेजर्ट चकलेट ब्रान्ड ‘माकुसी’ चलाउँदै आएकी छन्। उनी एक सफल उद्यमीको रूपमा समेत स्थापित छिन्।
स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्छ भन्ने उद्देश्यले सन् २०२० मा स्थापित कम्पनीबाट नै अनुष्का दक्षिण एसियाकै उत्कृष्ट १० महिला उद्यमीमासमेत परेकी थिइन्। ‘इन द क्याप म्यागेजिनले तयार पारेको सूचीको उनी तेस्रो नम्बरमा परेकी थिइन्। यसका साथै उनी काठमाडौँ महानगरपालिकाको सल्लाहकारका रूपमा स्वयंसेवीको भूमिकामा काम गरेकी थिइन्।
संसदमा रीमा
रीमाले रास्वपाको दलित महिला कलस्टरबाट समानुपातिक सांसद बन्ने मौका पाइन्। त्यसो त सुरुमा उनी उज्यालो पार्टी नेपाल (उनेपा) को केन्द्रीय सदस्य बनेर राजनीतिमा प्रवेश गरेकी थिइन्।
चुनावको लागि उनेपा र रास्वपाबीच एकीकृत भएको थियो। त्यसको करिब दुई सातामै उनेपा अलग्गियो। रीमा रास्वपामै बसिन्। र, रास्वपाबाटै समानुपातिक उम्मेदवार बनिन्, चुनाव प्रचारमा खटिइन्। अन्तत: उनी समानुपातिकबाट सांसद निर्वाचित हुन सफल भइन्।
सुरुमा सञ्चारकर्मी रहेकी रीमा पछि फिल्ममा अभिनय गर्न थालिन्। फिल्म ‘स्वर’ बाट अभिनयको सुरुवात गरेकी रीमाले ‘बाटो मुनिको फूल २’, ‘भिसा गर्ल’, ‘मिस्टर नेपाली’, ‘हिजो आजका कुरा’ लगायत फिल्ममा काम गरिसकेकी छन्।
यसका साथै नेपाल आइडल, कमेडी च्याम्पियन्स, मेरो भ्वाइस युनिभर्सलगायत रियालिटी सो को होस्टको रूपमा आफूलाई चिनाइन्। साथै उनले केही म्युजिक भिडियोमा समेत मोडलिङ गरेकी छन्।
देशका समसामयिक र राजनीतिक विषयमा उनी सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै आएकी छन्।
सांसद बन्न नसकेकाहरू
रास्वपाबाटै गायक प्रकाश सपुत पनि समानुपातिक सांसदको सूचीमा थिए। उनले यो वर्षका लागि गायकी पनि टुंगिएको घोषणा गरेका थिए। आफ्नो जीवनको नयाँ यात्रा सुरु हुने भन्दै उत्साह देखाइरहेका थिए। संगीतमार्फत उनले चुनावको प्रचारमा सक्रिय थिए, तर समानुपातिकबाट निर्वाचित हुने सूचीमा उनको नाम परेन।
आफू समानुपातिकमा नपर्ने जानकारी भएरै होला केही दिनअघि फेसबुकमा उनले विदेशमा हुने सांगीतिक कार्यक्रमबारे सूचना दिए। जसअनुसार आगामी मार्च ३१ मा उनले आयरल्याण्डमा सांगीतिक प्रस्तुति दिँदैछन्।
रास्वपाबाटै पूर्व मिस्टर तथा चिकित्सक रूपक घिमिरे पनि समानुपातिक सूचीबाट निर्वाचित हुनेमा परेनन्।
अभिनेत्री निशा अधिकारी काठमाडौँ क्षेत्र नम्बर ५ बाट प्रत्यक्ष उम्मेदवार बनेकी थिइन्। उनी गतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेकी निशाले जित हासिल गर्न सकिनन्। तर पनि समानुपातिकभन्दा प्रत्यक्षतर्फ लड्ने हिम्मत भने जुटाइन्। चुनावमा पराजित भएसँगै उनी फिल्म ‘कस्तुरी’को छायांकनमा व्यस्त छिन्।
अर्की गायिका कोमल वली नेकपा एमालेबाट समानुपातिक सांसद बन्ने सूचीमा थिइन्। तर, उनी पनि समानुपातिकबाट निर्वाचित भइनन्।






