काठमाडौँ- नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूले आन्तरिक संघर्षलाई व्यवस्थित गरेर लैजाने बताएका छन्।
मंगलबार नेता पूर्णबहादुर खड्काको नेतृत्वमा काठमाडौँमा बसेको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको भेलामा उनीहरूले विशेष महाविधेशनको नेतृत्वले पार्टीको आन्तरिक विषयलाई संवेदनशील ढंगले लिन नसकेको भन्दै आन्तरिक संघर्षलाई व्यवस्थित गरेर लैजाने जनाएका हुन्।
पार्टी नेतृत्वको विवाद अदालतमा विचाराधीन रहँदा विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले बलमिच्याइँ गर्न खोजेको निष्कर्ष रहेको कांग्रेस नेता मानबहादुर नेपालीले बताए। उनले मुलुकमा पार्टीको पराजय र लोकतन्त्र नै कमजोर भइरहेका बेला सबै पक्ष सहज र सतर्क हुनुपर्नेमा जोड दिए।
कांग्रेसको प्रचलित विधान, नियमावली र परम्परालाई ठाडो चुनौती दिएर आफूलाई स्व:घोषितरूपमा सभापतिको रूपमा हस्ताक्षर गरेपछिको विवाद अदालतमा रहेकाले गगन थापालाई सभापति स्वीकार गर्न नसकिने उनले बताए। उनले अहिलेसम्म १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति नै वैधानिक रहेका दाबी समेत गरे।
छलफलमा केही नेताहरूले भने समानान्तर गतिविधि भन्दा पार्टीलाई बलियो र एकढिक्का बनाएर लैजानुपर्नेमा जोड दिएका थिए। सदस्यहरूले धारणा राख्न बाँकी रहेकाले छलफल बुधबार पनि जारी रहने नेताहरूले जनाएका छन्।




